चालु कर्जा मार्गदर्शन संशोधन गरिने, क्रेडिट घाटा मोडल कार्यान्वयनको लागि आवश्यक नीति निर्माण गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्ग दर्शन संशोधन गर्ने भएको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै सो व्यवस्था परिमार्जन गर्ने जनाएको हो । नेपाल लेखामानअनुसार अपेक्षित क्रेडिट घाटा मोडल (ईसीएल) कार्यान्वयनका लागि आवश्यक नीति निर्माण गर्ने पनि बताएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा एकल ग्राहक कर्जा सुविधासम्बन्धी व्यवस्थामा परिमार्जन गरी कर्जा अधिकेन्द्रीकरण घटाउने कार्यलाई प्राथमिकतामा राखिएको उल्लेख छ ।

कर्जा प्रवाहको वर्तमान अवस्था समेतको विश्लेषणको आधारमा तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्नेसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने छ ।

वित्तीय स्रोतको सदुपयोगिता अभिवृद्धि गरी वित्तीय स्थायित्व प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित ठूला ऋणीहरूको सुपरीवेक्षणलाई प्रभावकारी बनाउन छुट्टै मार्गदर्शन जारी गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकले ठूला ऋणीलाई सुपरीवेक्षण गर्ने गरी मार्गदर्शन निर्माणको क्रममा रहेको बताएको हो ।

राष्ट्र बैंकले साना तथा मझौला उत्पादनशील व्यवसायलाई प्रवर्धन गर्ने नीति लिने जनाएको छ । यो मौद्रिक नीतिमा वित्तीय क्षेत्रसँग सम्बन्धित ऐन कानुनहरुको समसामयिक पुनरावलोकन गर्ने विषय समेट समेटिएको छ ।

मौद्रिक नीतिले बैंकिङ क्षेत्रको सम्पत्तिको गुणस्तर मूल्यांकन गर्ने, कर्जा जोखिम न्यूनीकरण गर्ने, सुपरिवेक्षकीय क्षमता अभिवृद्धि गर्न सुपरिवेक्षकीय सूचना प्रणालीको विकास र प्रयोग गर्ने, समष्टिगत आर्थिक उत्तारचढावका कारण वित्तीय क्षेत्रमा आउन सक्ने दवाव आँकलन गर्न ‘माईक्रो स्ट्रेस टेस्टिङ फ्रेमवर्क’ तयार गरी लागू गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स