विसं २०८१ को पञ्चांग (पात्रो) प्रकाशन गर्न चाहनेले साउनभित्र विवरण पेस गर्नुपर्ने

काठमाडौं । विसं २०८१ को पञ्चांग (पात्रो) प्रकाशन गर्न चाहनेलाई साउन मसान्तभित्र त्यससम्बन्धी विवरण पेस गर्न नेपाल पञ्चांग निर्णायक विकास समितिले आह्वान गरेको छ ।

पञ्चांगकारले सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रहस्पष्टीकरण, ग्रहको उदय-अस्त, चाडपर्व, विवाह, व्रतबन्धका मुहूर्त र ग्रहणआदि विषय समावेश भएको पञ्चांग गणना गरी पेस गर्न समितिले सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको हो ।

आवश्यक दस्तुर पनि साउन मसान्तभित्र समितिको कार्यालय नारायणहिटीमा बुझाउनुपर्ने गरी सूचित गरिएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते गरेको समितिको गठन आदेशको स्वीकृति बमोजिम यो सूचना प्रकाशन गरिएको हो । गठन आदेश बमोजिम समितिको स्वीकृति बिना पात्रो (पञ्चांग) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गर्न पाइँदैन । स्वीकृति बिना प्रकाशन गरिएका पात्रोलाई नियमबमोजिम आवश्यक कारबाही गरिने पनि उनले बताए ।

नयाँ पञ्चांगकारको हकमा आफैंले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चांग गणनाको गणित र विसं २०८१ को गणनाको सबै आधार एवं गणित पनि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । म्याद नाघी आएका र अंग नपुगेका पञ्चांगलाई स्वीकृति प्रदान नगरिने समितिले जनाएको छ । भित्तेपात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाले पनि समितिको स्वीकृति लिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

यससम्बन्धी जानकारी समितिको वेबसाइटबाट पनि लिनसकिने जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स