आफूसँग भएका ज्ञान र शिप स्वदेश कै उन्नतिका लागि प्रयोग गरौंः शिक्षामन्त्री प्रमिला कुमारी

काठमाडौं । शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले आफूसँग भएका ज्ञान र शिप स्वदेश कै उन्नतिका लागि प्रयोग गर्न अनुरोध गरेकी छिन् । पछिल्लो समय युवा पलायनको दर बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै राज्यमन्त्री कुमारीले नेपालमा भएका अवसरहरुको पहिचान गर्न र मुलुक प्रति योगदान गर्न युवा पुस्तालाई अनुरोध गरिन् ।

ललितपुर कुपण्डोलको पाटन कलेज फर प्रोफेसनल स्टडीजको दीक्षान्त समारोहमा बोल्दै उनले सरकार रोजगारीको अवसर सिर्जना गर्न दत्तचित्त भएर लागि परेको भन्दै यसमा हातेमालो गर्न पनि अनुरोध गरिन् । उनले कलेजले वहन गर्ने सामाजिक उत्तरदायित्वको उच्च प्रशंसा गर्दै सरकारले गर्नुपर्ने कार्यहरुमा कलेजको समन्वयलाई लिएर धन्यवाद दिएकी छिन् । नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको अभिन्न अंग पाटन कलेज फर प्रोफेसनल स्टडीजले हरेक प्रदेशबाट छानिएर आउने विद्यार्थीहरुलाई छात्रवृति दिँदै आएको छ ।

दीक्षान्त समारोहमा बोल्दै नेपाल ब्रिटेन चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले आफ्नो शिक्षाले देशमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जिम्मेवारी बोध गर्न आग्रह गरिन् । त्यसैगरी क्याम्पसका अध्यक्ष ई. पंकज जलानले सरकार तथा निजी शैक्षिक संस्थाले देशको शैक्षिक क्षेत्रको विकासका लागि सहकार्य गर्नुपर्नेमा जोड दिइन् ।

उनले दीक्षित विद्यार्थीहरुलाई बधाई दिँदै उनीहरुको उज्जवल भविष्यको कामना गरिन् । सो दीक्षान्त समारोहमा क्याम्पसका बी.एस.सी कम्प्युटर साइन्स एण्ड साफ्टवेयर इनजीनियरिङ र बि.बि.ए अध्ययन गरेका ६८ विद्यार्थी दीक्षित भएका थिए । पाटन कलेज फर प्रोफेसनल स्टडीज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स