कोशी प्रदेशमा एमालेको सरकार ढल्यो, कार्कीले पाएनन् विश्वासको मत

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न असफल भएका छन्।

प्रदेशसभाको आजको बैठकमा सभामुख बाबुराम गौतमले मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतमाथिको प्रस्तावका पक्षमा ४६ र विपक्षमा ४३ मत प्राप्त भएको जानकारी दिए । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ४७ मत आवश्यक हुन्छ । प्रदेशसभामा आजको बैठकमा कुल सङ्ख्या ९३ मध्ये ८९ प्रदेशसभा सदस्य उपस्थित थिए।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ (४) बमोजिम मुख्यमन्त्री कार्कीले प्रदेशसभामा बिहीबार उक्त प्रस्ताव पेश गरेका थिए ।

विश्वासको मत प्रस्तावमाथि बिहीबारको बैठकमा प्रदेशसभा सदस्यहरुले आफ्ना भनाइ राखेका थिए । आजको बैठकमा मुख्यमन्त्री कार्कीले प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिँदै जनताले कुनै पनि दललाई स्पष्ट बहुमत नदिएको र दलहरु मिलेर नै सरकार बनाउनुको विकल्प नभएको बताए । उनले त्यसअघि आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

जनता समाजवादी पार्टीले मुख्यमन्त्रीको विश्वासको प्रस्ताव उपर तटस्थ बस्ने निर्णय गरेकाले पार्टीका एक मात्र प्रदेशसभा सदस्य निर्मला तावा लिम्बू आजको बैठकमा उपस्थित थिएनन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स