भ्रष्टाचार अभियोगमा कृषि विकास कार्यालयका प्रमुखविरुद्ध १२ लाख ८३ हजार बिगो सहित मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुखसहितका अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रदेश सरकारबाट प्राप्त भएको अनुदान रकममा तोकिए बमोजिमको काम नगरी भ्रष्टचार गरेको आयोगले आरोप छ ।

आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन भएको खत्याड गाउँपालिका-४ स्थित खिराचौर कृषि सिँचाइ निर्माण योजना अधुरो र समयमा काम नगर्ने उपभोक्ता समिति तथा अन्य संलग्नलाई नियमानुसार कारबाही नगरी छाडिएको थियो ।

कार्यस्थलमा नभएको कामकोसमेत विवरण तयार पारी १२ लाख ८३ हजार ३४ बराबरको भुक्तानी दिएको पाइएको आयोगको भनाइ छ । सो कार्यमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढाविरुद्ध १२ लाख ८३ हजार ३४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

यस्तै, सोही कार्यालयका सव इञ्जिनियर राजेन्द्र शाही र प्रशासनिक सहायक टेकबहादुर खत्री, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर रोकाया, कोषाध्यक्ष अमनाकुमारी रोकाया र सचिव भुवन रावलविरुद्ध पनि समान बिगो दाबी गर्दै आजै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स