चितवन । जिल्लाका सबै पालिकाले बजेट घटाउँदा भरतपुर महानगरपालिकाको बजेट बढेको छ । अन्य पालिकाहरुमा संघीय बजेट र आन्तरिक आम्दानी घटेपछि आउँदो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसँगै ल्याइएको बजेट घटाइएको छ । भरतपुर महानगरपालिकाले भने संघीय बजेट र आन्तरिक आम्दानी बढाउने प्रक्षेपणसहित बजेट बढाएको छ ।
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा १० करोड ७० लाख १७ हजार बढी बजेट ल्याएको हो । जिल्लाको राप्ती नगरपालिकाको बजेट आएको छैन । अन्यको बजेट चालु वर्षको तुलनामा आउँदो वर्षका लागि घटेर आएको छ ।
भरतपुर महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले विभिन्न मूल्यांकनहरुमा भरतपुर उत्कृष्ट भएकाले संघीय बजेट बढ्नु र आन्तरिक आम्दानी बढाउने महानगरको रणनीतिका कारण बजेट बढाउन सकिएको बताए । जनसहभागिता र श्रमदान बढी हुने अनुमान महानगरको छ । खर्चलाई गौरवका कार्यक्रमका रुपमा अरूले मानेको भन्दै उनले भरतपुरले राजस्वको दायरा बढाएर कर चुहावट नियन्त्रण गरेर त्यसलाई गौरवका रुपमा अघि बढाएको बताए । विकास निर्माणका काम घटाउन नसक्ने भन्दै उनले आन्तरिक राजस्व बढाएर विकास निर्माणका काममा कमी नल्याउने बताए ।
भरतपुर महानगरपालिका वित्त आयोगको कार्यसम्पादन मूल्यांकन र स्थानीय तह संस्थागत क्षमता मूल्यांकनमा उत्कृष्ट भएकाले संघीय बजेट बढेर आएको उहाँले जानकारी दिए । उनले भने, ‘हाम्रो चालु खर्च कम र पूँजीगत खर्च बढी छ ।’
रत्ननगर नगरपालिकाले एक अर्ब ३३ करोड ७२ लाख ७३ हजारको बजेट प्रस्तुत गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षका लागि एक अर्ब ३७ करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । चालु वर्षको तुलनामा आउँदो वर्षका लागि बजेट घटेको हो ।
खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ९४ करोड ८८ लाख ९५ हजारको बजेट सार्वजनिक गरेको छ । खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षका लागि एक अर्ब एक करोड १२ लाख ५१ हजारको बजेट ल्याएको थियो । यस नगरपालिकाले चालु वर्षको भन्दा आगामी वर्षका लागि कम बजेट ल्याएको छ ।
माडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९६ करोड ६९ लाख दुई हजार चार सय २७ बजेट सहितको नीति तथा कार्यक्रम पारित गरेको छ । चालु आर्थिक वर्षका लागि एक अर्ब सात करोड ८० लाख ८२ हजार ७० हजार बजेट ल्याएको थियो । चालु वर्षको तुलनामा आउँदो वर्षका लागि कम बजेट ल्याइएको हो ।
कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८१ करोड ७७ लाख ८० हजार बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षका लागि सो नगरपालिकाले ८५ करोड ९७ लाख ५१ हजार बजेट ल्याएको थियो । इच्छाकामना गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६७ करोड सात लाख ७० हजार आठ सय ४६ को बजेट ल्याएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षका लागि ६७ करोड ४४ लाख ३५ हजार रहेको थियो । गाउँपालिकाको बजेट चालु आर्थिक वर्षको तुलनामा घटेको हो ।
जिल्लाका सबै पालिकामा नगरसभामार्फत बजेट आइरहँदा पूर्वी चितवनको राप्ती नगरपालिकामा भने नगरसभा स्थगित भएको छ । नेकपा ९एमाले०बाट निर्वाचित वडाअध्यक्षहरुले वडागत बजेट सिलिङ अस्वीकार गरेपछि नगरसभा स्थगित भएको हो ।
नगरप्रमुख शमशेर लामाले वडाअध्यक्षहरुले बजेट सिलिङको विषयमा अवरोध गरेकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकिएको बताए । नगरसभाका लागि धेरै प्रयास ग¥यौं तर केही वडा अध्यक्षहरु बजेट सिलिङलाई लिएर अवरोध गरेपछि सञ्चालन गर्न नसकिएको उनले बताए ।
नगरप्रमुख लामाले असार १८ गते कार्यपालिका बैठक बस्ने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘कार्यपालिका बैठकपछि मात्रै नगरसभाको टुंगो लाग्ने छ । यस्तै, अन्य ६ पालिकाले भने नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।