काठमाडौं । नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय राजदूतावास, काठमाडौंले पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा पोखरा रंगशालामा एक सार्वजनिक योग कार्यक्रमको आयोजना गरेको छ । यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको नारा ‘वसुधैव कुटुम्बकमका लागि योग’ अर्थात ‘एक विश्व एक परिवार सबैको कल्याणका लागि योग’ रहेको छ ।
माननीय सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका माननीय मेयर धनराज आचार्य र सो क्षेत्रका २००० भन्दा बढी योग पारखीहरुको सो कार्यक्रममा उपस्थिति थियो ।
गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तर्राष्ट्रिय योग दिवस मनाउन पोखरालाई रोजेकोमा भारतीय राजदूतावासलाई धन्यवाद दिए । मुख्यमन्त्री पाण्डेले सारा विश्वले योगलाई मानसिक शान्ति, खुशी र मानवजगतको शान्तिको माध्यमको रुपमा स्वीकारेको बताए । उनले दर्शन, सभ्यता र सँस्कृतिले भारत–नेपाल सम्बन्धलाई सदियौंदेखि परिभाषित गरेको उल्लेख गर्दै वहाँले पोखरामा रहेका महत्वपूर्ण धार्मिक क्षेत्रहरु योग अभ्यासका लागि केन्द्र बन्न सक्ने बताए ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हरेक वर्ष पोखरामा जुन २१ गते अन्तर्राष्ट्रिय योग दिवस भव्यसँग मनाउन दूतावासले गण्डकी प्रदेश सरकार, पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकासँग सहकार्य गर्ने बताए । पोखरा महानगरपालिकाले सबैभन्दा बढी पोखरा आउने पर्यटक भारतीय रहेको जानकारी आफूलाई दिएको उनले बताए । उनले पोखरामा अन्तर्राष्ट्रिय योग दिवस मनाउनाले योग केन्द्रित पर्यटनलाई अझ प्रवद्र्धन गर्न सकिने बताए । भारतका माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा विश्वका नेताहरुसँग यो उत्सव मनाउने पनि राजदूत श्रीवास्तवले जानकारी गराए ।
माननीय सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री किरातीले मानव जातिको कल्याणका लागि योगलाई विश्वले नै साझा सम्पत्तिको रुपमा अपनाएको र यो लोकप्रिय हँुदै गइरहेको बताए । उनले हरेक वर्ष हिमाल अग्लिए जस्तै भारत–नेपालको सम्बन्धले पनि नयाँ उचाई हासिल गरिरहेको बताए । सम्माननीय प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भारत भ्रमणले यस सम्बन्धमा नयाँ कोसेढुङ्गा कायम गरेको मन्त्री किरातीले बताए ।
पोखरामा आयोजित अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रम जारी ‘इन्डिया ७५ आजादीका अमृत महोत्सव’ अन्तर्गतको उत्सव कार्यक्रमहरु मध्येको एक हो ।
सन् २०१४ मा संयुक्त राष्ट्र संघ महासभामा १७५ सदस्य राष्ट्रले भारतको प्रस्ताव समर्थन गरेपश्चात सन् २०१५ यता हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइदै आएको छ ।