काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ग्राहकलाई हाल वितरण गर्दै आएको खानेपानीको परिमाण बढाउँदै जाने योजना बनाएको छ । वर्षाको समयमा आन्तरिक स्रोतबाट उत्पादन हुने पानी बढ्ने र मेलम्चीको पानी नियमित हुँदा उपभोक्तालाई थप पानी वितरण गर्न सकिने लिमिटेडले जनाएको छ ।
अहिले दैनिक वितरण नभए पनि उपभोक्ताले हाल पाइरहेको भन्दा वर्षामा बढी पानी पाउन सक्ने गरी योजना बनाइरहेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले बताए । उनका अनुसार पानीको उपलब्धतासँगै पानी वितरण गर्ने तालिका परिमार्जन गर्ने योजना रहेको छ । उनले भने, ‘अहिलेसम्म खोला सुकेकाले सतही स्रोत सुकेको छ । खोलामा पानी हुन थालेपछि उत्पादन बढेछ र पुनःविचार गरिनेछ ।’
दैनिक तीनरचार घण्टासम्म पानी वितरण भइरहेको प्रवक्ता राईले बताए । अधिकांश ग्राहकले फेसबुक चलाउने भएकाले कुन क्षेत्रमा कहिले पानी वितरण हुन्छ भनेर सम्बन्धित शाखाको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिने गरिएको उनले बताए । उनले भने, ‘अहिले दुई दिनको फरकमा पानी वितरण भइरहेको छ । कहाँ कति बजे पानी आउँछ भनी ग्राहकले फेसबुक पेजबाट जानकारी लिने गर्नुभएको छ ।’
वर्षामा लिमिटेडको उत्पादन क्षमता बढ्ने हुँदा उपभोक्ताले पाउने पानी थप गर्दै जान सकिने प्रवक्ता राईको भनाइ थियो । वर्षामा लिमिटेडको उत्पादन १४र१५ करोड लिटरसम्म हुँदा केही घण्टाका लागि भए पनि दैनिक पानी वितरण गर्नसक्ने उनले बताए ।
अहिले दैनिक १७ करोड लिटर मेलम्चीबाट आउने र लिमिटेडको आफ्नो स्रोतबाट दैनिक आठदेखि नौ करोड गरी जम्मा २६(२७ करोड लिटरसम्म पानी वितरण भइरहेको छ । लिमिटेडले गत वर्ष वर्षाको समयदेखि बागमती नदीबाट समेत पानी ल्याउन सुरु गरेको छ । गत वर्ष वागमती नदीबाट दैनिक चार करोड लिटर पानी ल्याइएको लिमिटेडले जनाएको छ ।
यस वर्ष वर्षाको समयमा थप छ करोड लिटर पानी ल्याउन सकिने प्रवक्ता राईले बताए । उनले भने, ‘थप पानी ल्याउनका लागि आवश्यक संरचना बनाउन ठेक्का प्रक्रियामा जान लागेका छौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएदेखि यहाँ खानेपानीको समस्या कम हुँदै गएको छ’, उनले भने ।
अबका दिनमा खानेपानीको समस्या कम हुँदै जाने प्रवक्ता राईले बताए । उनका अनुसार उपत्यकाका डाँडामाथि ३५ वटा पानीका स्रोत छन् । लिमिटेडले ती स्रोत र जमिनमुनि रहेका एक सय एक ट्युबेलबाट पानी जम्मा गरी वितरण गर्दै आएको हो ।
गत वर्षमा उपभोक्ताको घरमा पालोपालो गरेर ९र१० दिनमा पानी वितरण हुने गरेको थियो । अहिले काठमाडौं उपत्यकामा दैनिक ४० करोड लिटर पानीको आवश्यकता रहेको छ ।