प्रतिनिधिसभामा तीन महिनापछि सांसद भण्डारीको सम्बोधन, के भने ?

काठमाडौं । ग्यास जलनबाट घाइते भई लामो समयसम्म उपचार गराएका सांसद चन्द्रकान्त भण्डारीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।
यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले जलनको उपचारका लागि सर्वसुविधासम्पन्न अस्पताल निर्माण गर्न माग गरे ।
गत पुस ३ गते ग्यास जलनबाट घाइते भइ भारतमा उपचार गराएर फर्किएका भएका सांसद भण्डारीले देशभित्र सुविधासम्पन्न जलन अस्पताल निर्माण गर्न आग्रह गरे ।
उनले आफू जलनको उपचारबाट फर्के लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि यसबारेमा जानकारी गराएको बताए । उनले गत वर्ष ग्यासलगायतको जलनबाट एक सय १० जनाको ज्यान गएको जानकारी दिए । यस वर्षमात्रै हालसम्म एक सय ११ जनाको ज्यान गएको सांसद भण्डारीले तथ्यांक पेश गरे ।
उनले भने, ‘गाउँ–गाउँमा ग्यास र बिजुली पुग्यो । के गर्न हुन्छ र हुँदैन भनेर कोही कसैलाई पनि सिकाउन सकेनौ । ग्यास कसरी बाल्ने, बिजुली कसरी बाल्ने पाठ्यक्रम निर्माता, सबैले यसबारेमा तत्काल पहल गर्नु जरुरी छ ।’
सांसद भण्डारीले आफूलाई उद्धार गरेर हालको अवस्थामा ल्याउने वर्तमान सरकार र शुभचिन्तक सबैलाई धन्यवाद दिए । आफू उपचार गरेर आएको अस्पताल बाबु छोराले चलाएको र दक्षिण एशियाको सबैभन्दा उत्कृष्ट रहेको भन्दै सांसद भण्डारीले मुलुकभित्र पनि त्यस्तै सुविधासम्पन्न अस्पताल निर्माण गर्न सरकारको पुनः ध्यानाकर्षण गराए ।
उनले पछिल्लो तीन वर्षमा तीन जना मात्रै भेन्टिलेटरमा पुगेर बाँचेर आएको उल्लेख गर्दै नेपालमा पनि राम्रा स्वास्थ्यकर्मी भएको बताए ।
हालसम्म जलनको उपचारका लागि कीर्तिपुरमा रहेको अस्पतालले धानीरहेको उल्लेख गर्दै उनले सरकारले दिने उपचार सहयोगमा जलनको बिरामीलाई पनि जोड्न माग गरे ।
उनले  खाना पकाउने ग्यासमा स्वचालित रेगुलेटर राख्ने व्यवस्था गर्न  र त्यसका लागि कानुन निर्माण गर्न पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद रघुवीर महासेठले जनतालाई विकास र प्रतिवद्धता चाहिएको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा विदेश गएर षड्यन्त्र गरिरहेको भन्ने सुनिएकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याउन माग गरे ।
सांसद महासेठले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्न सुझाव दिए । उनले बन्द अवस्थामा रहेका वीरगञ्ज कृषि औजार कारखाना, वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानालाई पनि सञ्चालनमा ल्याउन आग्रह गरे ।
सांसद रामकुमार राईले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा चालेको कदमले जनतामा एक प्रकारको उत्साह पैदा गरेकाले अझै प्रभावकारी रुपमा गैरकानूनी सम्पत्ति आर्जन गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स