यी ४ हुन भुटानी शरणार्थीका मुख्य योजनाकार, यसरी भएको थियो कनेक्सन

काठमाडौं । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा गरिएको ठगीमा चार जना मुख्य योजनाकार रहेको प्रहरीले अनुसन्धानबाट निष्कर्ष निकालेको छ ।  उक्त योजनाको मुख्य योजनाकार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री ‘बादल’का सल्लाहकार डा. इन्द्रजित राई, मोरङ घर भएका केशव दुलाल र ललितपुर घर भएका सानु भण्डारी रहेको प्रहरीको अनुसन्धानले निष्कर्ष निकालेको हो ।

सो प्रकरणको आरोपमा टोपबहादुर रायमाझीसहित पूर्व गृहमन्त्री बालकृष्ण खाण, भुनाटी शरणार्थीका नेता टेकनारायण पाण्डेलगायत सहित १६ जना प्रहरीको हिरासतमा राखेको छ । टोपबहादुर रायमाझीले नै केशव दुलाल र सानु भण्डारीलाई डा. इन्द्रजित राईसँग चिनजान गराएर काम अघि बढाउन भनेको अनुसन्धानबाट थाहा भएको छ ।

यसरी भयो यी चारको कनेक्सन ?
पूर्व उपप्रधानमन्त्री रायमाझी र सानु भण्डारीको घर नजिकै छ । उनीहरूबीच मुखबोलीमा मामा भान्जाको सम्बोधन हुन्छ । सानु भण्डारी नेपाल स्याटेलाइट कम्पनीमा काम गरिरहेका थिए । ललितपुर महानगरपालिका-२३ मा बस्छन् भण्डारी ।
मोरङका केशव दुलालसँग चिनजान भएपछि आफूलाई ‘भुटानी शरणार्थी सम्बन्धी प्रोजेक्टमा लगानी गरौँ’ भनेर प्रस्ताव आएको भण्डारीले जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिएका छन् । भण्डारीले भनेका छन्,‘मसँग केही पैसा थियो, लगानी गरेर काम शुरु गरेका हौँ । सोही अनुरुप योजना अघि सरेको हो ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार सानुले ठगेर आएको पैसाले घर बनाएका हुन् । रामबहादुर थापा गृह मन्त्रालयबाट बाहिरिएसँगै डा.इन्द्रजित पनि बाहिरिए । त्यसपछि आएका गृहमन्त्री बालकृष्ण खाणसँग गिरोहले पहुँच बनाएर कार्यदलको प्रतिवेदनमा अनुसूची थपाएको काम अघि बढाइएको बुझिएको छ ।

मोरङ घर भएका सागर राईमार्फत गिरोह बालकृष्ण खाण र तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसम्म पुगेको अनुसन्धानबाट खुलेको छ । ‘बालकृष्ण खाण सुरुदेखि नै यसबारे जानकार देखिन्छन्’ अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्,‘खाणले नै सचिव पाण्डेसँग यसबारे काम अघि बढाउनेबारे छलफल गरेको देखिन्छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स