काठमाडौंका अस्पतालहरुलाई लक्षित वर्गको निःशुल्क उपचार गर्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरभित्र सञ्चालनम रहेका अस्पतालहरुले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शैया छुट्याएर अनिवार्य निःशुल्क उपचार गनै निर्देशन दिएका छन् ।

आइतबार आफ्नै फेसबुक पेजमार्फत सूचना जारी गर्दै शाहले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) बमोजिम अस्पतालहरुले सो सेवा उपलब्ध गराउनुपर्ने भन्दै महानगरले निर्णय गरेको बताएका हुन् ।

शाहले अस्पतालहरूले प्रचलित कानुन–मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पनि निर्देशन दिएका छन् ।

स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्ने जस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँचयोग्य बनाउन उनको निर्देशन छ ।

उनले अस्पतालहरुले लक्षित वर्गलाई प्रदान गरेको निःशुल्क सेवाको विवरण टाँस गर्ने र महानगरमा प्रत्येक महिनाको १० गते बुझाउनुपर्ने बताएका छन् । साथै उनले मापदण्ड कार्यान्वयन नगर्ने र विवरण नबुझाउनेलाई नियमअनुसार कारबाही गर्ने समेत बताएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स