गंगा दशहरा स्नान : पाप कट्ने धार्मिक विश्वास

काठमाडौं । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा लाग्ने गंगादशहरा स्नान मेला सुरु भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नंं १ सुन्दरीजलस्थित वाग्मतीमा शैलमती मिसिएर बनेको तीर्थ सिद्धगयाको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा शनिबारदेखि नै स्नान गर्न भक्तजन भेला भएका छन् । यसै वर्षदेखि यहाँ व्यवस्थितरूपमा स्नान गर्ने व्यवस्था गरिएको छ । वाग्मती र शैलमतीको संगममा गंगादशहरा स्नान गरी भगवान् शैलमतेश्वरको दर्शन गरेमा पापमोचन भई मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

दश प्रकारका पाप हरण गर्न ज्येष्ठ शुक्ल पक्षमा स्वर्गबाट पृथ्वीमा भागीरथीले गंगा अवतरण गराएको सम्झनामा देशभरका नदीमा दशहरा स्नान गरिन्छ । ज्येष्ठ शुक्ल पक्षका १० दिनमा गंगा वा नदी किनारमा गई स्नान गरेमा १० प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलवको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानी पु¥याउने इच्छा राख्नु र बिनाकारण दुराग्रह राख्नेजस्ता पाप दशहराका अवसरमा गंगा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।

सिद्धगयाका साथै काठमाडौंको हत्यामोचनघाट, रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको वाणगंगा, नवलपरासीको त्रिवेणीसंगमलगायत देशभरका नदीमा दशहरा स्नान मेला लाग्ने गर्दछ । शरीर, मन र वचनले गरिने १० प्रकारका पाप दशहराका अवसरमा स्नान गरेर नाश हुने विश्वासमा गंगा दशहरा भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चा निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए ।

कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको संगमस्थित वाग्मती नदी किनारमा रहेको हत्यामोचनघाटमा पनि स्नान मेला लागेको गंगा दशहरा स्नान एवं पूजा समितिका अध्यक्ष रोहित लिम्बूले जानकारी दिए । पौराणिक कथाअनुसार परशुरामले पिता ऋषि जमदग्निको आदेशानुसार माता रेणुकाको हत्या गरेपछि यही स्थलमा स्नान गरी हत्याको पापमोचन गरेकाले यो स्थानलाई हत्यामोचनघाट भनिएको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

यसअघि परशुरामले भारत वर्षका हजारौं तीर्थमा स्नान गर्दा पनि मातृ हत्याको पापमोचन भएको थिएन । पापमोचन स्वरुप परशुरामकी आमा रेणुकाले पुनर्जीवनसमेत पाएको पौराणिक कथन छ । दशहराका १० दिने अवधिमा जेठ महिना, शुक्ल पक्ष, दशमी तिथि, बुधबार, हस्ता नक्षत्रलगायत १० योग पर्ने गरेको छ ।

पौराणिककालमा यही १० दिन लगाएर स्वर्गबाट गंगा पृथ्वीमा अवतरण भएको शास्त्रीय मान्यता छ । गंगा किनारस्थित भारतको काशीको दशाश्वमेधघाटमा पनि यो १० दिने अवधिमा विशेष मेला लाग्छ । यसैगरी त्रेतायुगमा भगवान् रामले सेतुबन्धमा स्थापना गरेको रामेश्वरघाटमा यस अवसरमा मेला लाग्ने गर्छ । यी तीर्थमा स्नान गरी भगवान्को दर्शन गरेमा १० प्रकारको पाप नाश हुने धार्मिक विश्वास रहिआएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स