काठमाडौं । चिनियाँ आरोहीले सर्वोच्च शिखर सगरमाथामा प्याराग्लाइडिङ गरेका छन् । चिनियाँ नागरिक ली सेनगतोले सगरमाथाको आठ हजार मिटरबाट आधार शिविरसम्म प्याराग्लाइडिङ गरेको नेपाल बिग माउन्टेन ट्राभल कम्पनीका प्रबन्ध निर्देशक सुदर्शन नेपालले जानकारी दिए । आरोही ली आठ हजार मिटरबाट करिब ४० मिनेटमा आधार शिविर झरेका थिए ।
उनका अनुसार चिनियाँ आरोहीले सगरमाथाको आठ हजार मिटरबाट प्याराग्लाइडिङ गर्ने अनुमति लिएका थिए । आरोही ली नेपाल बिग माउन्टेन ट्राभल कम्पनीको समन्वयमा सगरमाथा आरोहणमा गएको हो ।
सगरमाथाको आठ हजार मिटरबाट प्याराग्लाइडिङ गरेर आधार शिविर झरेर पुनः सगरमाथा आरोहणका लागि निस्केका छन् । ‘चिनियाँ आरोही ली आरोहण गरेर सगरमाथाको आठ हजार मिटरमा पुगी प्याराग्लाइडिङ गरेर आधार शिविर झरे । अहिले आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ लागेका छन्’, उनले भने ।
प्रबन्ध निर्देशक नेपालले साहसिक कार्यमा रमाउने चिनियाँ पर्यटकलाई आकर्षण गर्न यसले प्रोत्साहन गर्ने बताए । कोरोना महामारीपछि चिनियाँ पर्यटक आगमन बढिरहेको सन्दर्भमा चिनियाँ पर्यटकलाई बढीभन्दा बढी आकर्षण गर्न सहयोग पुग्ने बताए ।