काठमाडौं । नेपाली बजारमा आकर्षक मोडलको नयाँ फ्रेन्च कार ‘सिट्रोन सी ३’ भित्रिएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोनको नयाँ मोडल सी ३ नेपाली बजारमा सार्वजनिक गरेको हो।
भारतमा उत्पादन भएका दुईटा भेरिएयन्ट उपलब्ध रहेको कम्पनीले जनाएको छ । नयाँ सिट्रोन सी ३ १.२ पी लाइभ र पी फिल भाइब प्याक गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ । यसको मूल्य क्रमशः ३४ लाख ४९ हजार र ३६ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।
सिट्रोन सी ३ कम्प्याक्ट एसयूभी सेग्मेन्टको कार हो । नेपालका युवा र फरक गाडीको चाहना राख्ने ग्राहकहरूको यो कारले मन जित्न सक्नेछ । अत्यन्त आकर्षक डिजाइनमा बनाइएको सिट्रोन सी ३, ख्याती प्राप्त वर्ल्ड अर्बन कार २०२३ अवार्ड पाउन सफल भएको थियो ।
विशेषता
कम्पनीले यो कार सीएमपी मोडुलर प्लेटफर्ममा तयार पारेको हो। कारको अगाडि भागमा स्प्लिट हेडल्याम्प, एलईडी डीआरएल तथा रियरमा ¥याप अराउण्ड एलईडी ब्याकलाइट रहेको छ । यो गाडी दुई पेट्रोल इन्जिन भेरिएन्टमा उपलब्ध छ ।
कारको ओराभीएम र फ्रन्ट ग्रिलमा क्रोम फिनिस छ भने तल्लो भागमा हेग्जागन साइजको ग्रिल र अझ तलपट्टी ड्युअल टोन बम्पर र आल्मुनियम जस्तो देखिने स्किडप्लेट छ । यसमा ड्युलटोन डाइमण्ड कट अलोय ह्विल छ। यो गाडीको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ। यो कारमा लगेजका लागि ३१५ लिटरको बुट स्पेस दिइएको छ।
इन्जिन
सिट्रोन सी३ मा १.२ लिटरको थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड तथा टर्बोचार्ज्ड पेट्रोल इन्जिन छ, जसले ८२ एचपी पावर र ११५ एनएम टर्क जेनेरेट गर्दछ । कारमा ५ स्पिड म्यानुअल तथा अटोमेटिक ट्रान्समिसन सिस्टम दिइएको छ ।
अर्को १.२ लिटरको थ्री सिलिन्डर टर्बो पेट्रोल इन्जिन छ जसले ११० एचपी पावर र १९० एनएम टर्क जेनेरेट गर्न सक्छ। यो ६ स्पिड म्यानुअल गियरबक्समा जोडिएको छ ।