काठमाडौं । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो रहेको आरोप लागेपछि प्रहरीको खोजी सूचीमा रहेका नेकपा (एमाले) का सचिव एवं पूर्वउपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीको घरमा आज प्रहरीले खानतलासी लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट गएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–१५ सातदोबाटो नजिक रहेको रायमाझीको घरमा खानतलासी लिएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा काठमाडौंबाट गएको टोलीले उहाँको घरमा खानतलासी लिएको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।
नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा जोडिएपछि रायमाझीलाई एक साताअघि नै प्रहरीले पक्राउ पुर्जीको अनुमति लिएर खोजी गरिरहेको छ । त्यसपछि रायमाझी सम्पर्कमा नभएकाले खोजी जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त प्रकरणमा रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले तत्कालै पक्राउ गरिसकेको छ ।
उक्त घटनामा प्रहरीले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरिसकेको छ । यस्तै प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलगायत आठ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
प्रहरीमा शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाएर एक सय छ जनाले कूल २३ करोड २५ लाख ठगी भएको भन्दै २० वटा जाहेरी दिएका छन् । प्रहरीका अनुसार गिरोहले २०७६ देखिनै गृहका अधिकारीसँगको मिलेमतोमा काम गरेको पाइएको छ ।
कतिपयलाई भने नक्कली शरणार्थी बनाइसकेको फेला परेको छ । यसरी शरणार्थी बनाएबापत उनीहरूबाट प्रतिव्यक्ति लाखौँ रकम उठाएका थिए ।