बैंकका ठूला ऋणीहरूको लगानी निगरानी गर्न ‘ग्रूप एक्पोजर’ कार्यविधि ल्याउँदै राष्ट्र बैंक, सीमा तोकेर नयाँ नियम गरिने

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुको ठूला ऋणीहरूको लगानीलाई शुक्ष्म निगरानी गरिने भएको छ । नेपाल राष्ट्र बैंकले एक भन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने ऋणीहरूको निगरानीमा राख्ने भएको भएको हो ।

हाल नेपालमा एउटै व्यक्ति तथा समूहको लगानीका विभिन्न उद्योग, व्यवसाय, कम्पनी तथा फर्महरूले एक भन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट अर्बौ रुपैयाँ कर्जा लिइरहेका छन् । ती उद्योग, व्यवसाय कम्पनी तथा फर्महरुले बैंकबाट लिएको कर्जाको लाभ एकै जना व्यक्ति तथा समूहले मात्रै पाएको निर्क्योल गर्दै राष्ट्र बैंकले ‘ग्रूप एक्पोजर’ कार्यविधि ल्याउन लागेको हो ।

नेपाली लगानीकर्ता हुन् वा विदेशी लगानीकर्ताको समूहद्वारा सञ्चालित कम्पनी तथा फार्महरुले लिने कर्जाको लिमिट तोकेर नै ‘ग्रूप एक्पोजर’ कार्यविधि बनाउन लागिएको राष्ट्र बैंक सुपरिवेक्षण विभागका एक अधिकारीले बताए ।

‘एउटै व्यक्ति तथा समूहको लगानीमा रहेका कम्पनीहरू कुन–कुन छन् र ती कम्पनीहरूले कुन–कुन बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका छन् त्यसको निगरानी अब राष्ट्र बैंकले गर्छ,’राष्ट्र बैंकका ती अधिकारीले हाम्रो अर्थलाई भने, ‘जसमा लागि केही समयभित्रै ‘ग्रूप एक्पोजर’ कार्यविधि ल्याइने छ । निगरानीमा परेका समूहद्वारा सञ्चालित कम्पनी तथा फार्महरू ‘मल्टिपल बरोवर’ रहेछन् भने त्यस्ता कर्जाको समेत निगरानी गरी नयाँ कर्जा प्रवाहमा नयाँ व्यवस्था गरिन्छ ।

एउटै समूहद्वारा सञ्चालित कुनै पनि कम्पनी कालोसूचीमा परेको रहेछ भने ती समूहका अन्य कम्पनीले समेत कर्जा पाउँदैनन् ।’ राष्ट्र बैंकले हाल ‘केडिट इन्फरमेसन सिस्टम’ द्वारा कुनै व्यक्ति तथा कम्पनीको नाममा बैंक तथा वित्तीय संस्थाहरूले दिएको कर्जाको निगरानी गरिरहेको छ । जसमा कर्जा लिने व्यक्ति तथा कम्पनीले लिएको कर्जाको साँवा ब्याज भुक्तानी, कम्पनीको सामान्य जानकारी देखि कालो सूचीको अवस्था समेत बैंक तथा वित्तीय संस्थाहरूले हेरेर नयाँ कर्जा प्रवाह गर्छन् ।

राष्ट्र बैंकले समेत सोही सिस्टमबाटै कर्जाको निगरानी गर्ने गरेको छ । तर, एकै समूहको लगानीमा रहेको कम्पनी तथा फार्मले कुन–कुन हुन् र कुन–बैंक तथा वित्तीय संस्थाबाट कति कर्जा लिएका छन् ? त्यसको रिपेन्टको अवस्था, कालोसूची लगायत ती समूहको लगानीमा रहेका कम्पनीहरूको वित्तीय अवस्थाको बारेमा समेत एकै पटक जानकारी लिन मिल्ने गरी ‘ग्रूप एक्पोजर’ कार्यविधिको मस्यौदा तयार गर्ने काम राष्ट्र बैंकले अघि बढाएको हो ।

उदाहणको लागिः ‘राम भन्ने समूहको लगानीमा ५/६ वटा कम्पनी तथा फार्महरू सञ्चालनमा छन्, ती कम्पनीहरूले विभिन्न बैंकहरूबाट कर्जा लिएका हुन्छन्, बैंकले जुन कम्पनीको नाममा कर्जा दिएको भएपनि त्यसको लाभ भनेको त्यही ग्रूपका लगानीकर्ताले नै लिने हो ।

‘ग्रूप एक्पोजर’ कार्यविधि तयारी गरी त्यस्ता गु्रपको लगानीमा रहेका कम्पनी तथा फार्म कुन कुन रहेछन् । त्यसले कुन–कुन बैंकबाट कति कर्जा लिएको छ र त्यसको भुक्तानीको अवस्था कस्तो छ ? हेर्ने राष्ट्र बैंकले सिस्टम बनाउन ‘ग्रूप एक्पोजर’ कार्यविधि ल्याउन लागेको हो ।

जसमा राष्ट्र बैंकले कर्जाको प्रकार र सीमा समेत तय गरी त्यस्ता कर्जाको शुक्ष्म निगरानी गर्नेछ भने त्यस्ता समूहद्वारा सञ्चालित कम्पनीहरूको नाममा बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा, सेयर धितो, सुनलगायतका अनुत्पादक क्षेत्रका लागि कर्जा प्रवाह गरेको भए त्यस्ता कर्जा दोहोरो समेत हुन नदिने व्यवस्था गर्ने तयारी राष्ट्र बैंकले थालेको हो । कर्जाको वर्गीकरण गरेर नै सुक्ष्म निगरानीमा राखिने राष्ट्र बैंक स्रोत बताउँछ ।

‘हालसम्म ५ करोड रुपैयाँभन्दा माथिको कर्जालाई ठूला कर्जा भनिएको छ, कर्जाविधि आएपछि त्यो सीमा घटबढ हुनसक्छ, कर्जाको रिपेन्ट र कम्पनीको वा सम्बध समूहका अन्य कम्पनीहरुको वित्तीय अवस्था तथा कालो सूचीको अवस्था समेत मूल्यांकन गरी नयाँ कर्जाको लागि नयाँ व्यवस्था गर्न सकिने सम्भावना छ ।’–राष्ट्र बैंक स्रोतले भन्यो ।

उक्त कार्यविधि निर्माणको लागि हाल राष्ट्र बैंक सुपरिवेक्ष र नियमन विभागमा छलफल भइसकेको हुँदा मस्यौदा तयार गर्न कमिटी गठन गर्ने तयारी गरिएको राष्ट्र बैंक स्रोतको भनाइ छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स