काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज निर्णय गर्दैछ । त्यसका लागि आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ ।
आज दिउँसो ५ बजे बस्ने बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्ने छ । नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि रास्वपाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । तर पार्टीले सरकारको समर्थन भने कायमै राखेको छ । यसैगरी पछिल्लो समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा पनि आजको बैठकमा छलफल हुने सो पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
यही वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति रवी लामिछाने पुनः निर्वाचित भएर आउनु भएपछि आज पार्टीको दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ ।