नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी

काठमाडौं । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ ।
अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।
उक्त मुद्दा जिल्ला प्रहरी परिसरले हेरिरहेको छ । विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन् ।
उनीहरुले कूल २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । यद्यपि योभन्दा धेरै सङ्ख्यामा पीडित भएको अनुमान गरिए पनि अन्य व्यक्ति सम्पर्कमा आइनसकेको उनको भनाइ छ । हाल उजुरीमा उल्लेख भएका व्यक्तिमाथि अहिले अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
गिरोहले विसं २०७७ देखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको खुलेको छ । यस सम्बन्धमा पहिलो पटक गत जेठमा अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो । घटनामा मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ झण्डै १० महिनापछि गत चैत १२ गते पक्राउ परेका थिए । त्यसको केही दिनपछि सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परेका थिए ।
उनीहरुकै बयानका आधारमा गृहका अधिकारी र उच्च राजनीतिक नेतृत्व संलग्न भएको तथ्य बाहिर आएको अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
घटनाको थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसरलाई पक्राउ परेका आरोपीसहितको अनुसन्धान फाइल हस्तान्तरण गरेको थियो ।
सोही सिलसिलामा प्रहरीले वैशाख १९ गते मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार डा. इन्द्रजीत राईलाई पक्राउ गरेको थियो । प्रहरीले हिजो तत्कालीन गृहसचिव भइ हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र पूर्वऊर्जामन्त्री एवं नेकपा ९एमाले०का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका गिरोहका समूहबाट प्रहरीले सन्दीपका नाममा काटेको चेकसमेत बरामद गरिसकेको छ । प्रहरीले अहिले पनि सचिव रायमाझी र डा. राईका छोरा नीरजमाथि पक्राउ पुर्जी जारी गरी खोजी गरिरहेको छ । नीरजले काठमाडौंका विभिन्न होटलमा पुगेर करोडौं रकम बुझेको प्रहरी स्रोतको भनाइ छ ।
‘अन्य केही व्यक्ति पनि अनुसन्धानको घेरामा छन्, प्रमाण जुटेपछि पक्राउ पर्छन्’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।
गिरोहले गृह मन्त्रालयका नाममा सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्टसमेत बनाएको भेटिएको छ । गिरोहले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका व्यक्तिलाई प्रयोग गरी उनीहरुका आफन्तलाई समेत शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीका रुपमा नाम दर्ताका लागि फारम भर्न लगाएका थिए ।
उनीहरुले शरणार्थी फारम भर्नेबाट १५ देखि २० लाख असुलेका थिए । गिरोहले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीसँग सेटिङ भइरहेको सुनाएर पीडितलाई विश्वास दिलाउने गरेका थिए । विश्वासमा पारिराख्न गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र देखाउने गरेका थिए ।
गिरोहले पत्रपत्रिका र अनलाइनमा आएका फोटो, समाचार तथा शरणार्थी समस्या हेर्ने विभिन्न निकायका कर्मचारीको सरुवासम्बन्धी समाचार पीडित समक्ष सेयर गरी विश्वास बटुल्ने गरेको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले उतिबेलै  बताएका थिए ।
पीडितलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौंलगायत स्थानमा पटकपटक बोलाउने गरेको जाहेरीमा उल्लेख छ ।
उनीहरुले काम नभएमा रकम फिर्ता गरिदिन्छु भन्दै आठ करोड बराबरको चेक समेत दिएका थिए । उनीहरुले यसरी उठाइएको रकम संकलनका लागि विभिन्न व्यक्तिको बैंक खाता प्रयोग गर्ने गरेका पाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स