काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति आफूले नरोकेको बताएका छन् । कोभिडको यो महामारीमा आम नागरिकलाई पुनरकर्जादेखि अन्य सेवा पुर्याउन राष्ट्र बैंकलाई कस्तो नीति ल्याउने, कहिले ल्याउने र कसरी ल्याउने भन्ने विषयमा आफूले सुझाव दिएको बताएका छन् ।
चालु आर्थिक वर्षको दोस्रो साता वित्दा समेत राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन सकेको छैन । राष्ट्र बैंकले मुद्रा बजारलाई व्यवस्थित गर्ने नीति मौद्रिक नीति ल्याउन ढिला गरिरहेको छ ।
बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का पदाधिकारीहरूसँगको भेटमा मन्त्री शर्माले भने, ‘मैले गभर्नर साबलाई फेरि ब्याजदर बढेर नागरिक वित्तीय सुविधाबाट बञ्चित हुनुपर्ने स्थिति नआओस् भनेर सुझाएको छु ।’ वातावरण हिजोभन्दा फरक नभएर अझ सहज बनाउने स्थिति सिर्जना गर्न आफूले निर्देश गरेको उनले बताए ।
‘मैले मौद्रिक नीति रोकेको त हुँदै होइन,’ शर्माले भने, ‘नेपाल राष्ट्र बैंक स्वायत्त संस्था हो ।’ ऋण पाउने पक्का भएकाहरूले ऋण पाउने स्थिति सहज होस् । अर्थ मन्त्रालयले मौद्रिक नीति रोकेर अर्थतन्त्रलाई नै अप्ठेरो पार्ने काम आफूले नगर्ने बताए ।
पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले हिजो र आजको वातारण फरक भएकाले परिवर्तित वातारणलाई सहज बनाइदिन माग गरे ।
शर्माले एकातिर कोरोना र अर्कातिर व्यवसाय, सर्वसाधारण र जनजीवन संकटमा रहेकाले यो सर्वव्यापी संकट समाधान समस्याप्रति सबै निकाय गम्भीर भएर लागेमात्र सम्भव हुने बताए । आफू नेतृत्वमा रहँदा जानीजानी गल्ती नगर्ने बताउँदै उनले अञ्जानमा गल्ती भए सच्याउने सल्लाह दिन समेत अनुरोध गरे ।
देश विकासको चिन्ता कसमा कति छ भन्ने कुराले फरक पार्ने बताउँदै उनले भने मलाई धेरै चिन्ता छ । तर, नाफा खाने चिन्ता हैन । सो अवसरमा मन्त्री शर्माले असत्य कुरा स्थापित नहुने पनि बताए । ऊर्जामन्त्री रहँदा आफूले व्यहोरेको आरोपको सम्झँदै उनले भने, ‘म कुनैपनि न्यूजमा कमेन्ट गरिनँ । यस्ता समाचार स्थापित हुन सक्दैन । मन्त्री शर्माले अनुसन्धानमुखी तथ्यपरक समाचार सम्प्रेषण गर्न अनुरोध पनि गरेका छन् । साथै, यो कार्यकाल आफ्ना लागि चुनौती र आम नागरिकका लागि अवसर भएको उनको जिकिर छ ।
अर्थ सचिव शिशिरकुमार ढुंगानाले सञ्चारकर्मीहरूबाट आएको सुझावले ‘तथ्यमा आधारित नीति’ बनाउन सघाउ पुग्ने बताए । अर्थतन्त्र अझै पनि उत्कृष्ट बनाउन नसकेको भएपनि विदेशी विनिमय सञ्चिति, बचत रहेको बजेट लगायत केही राम्रा पक्ष रहेको बताए ।
भेटमा नाफिजका अध्यक्ष मोदनाथ ढकालले मन्त्री शर्मालाई ऊर्जामन्त्री हुँदाको सफल इन्निङ्स दोहो¥याउने शुभकामना दिए । नेतृत्वमा पुगेको र चुनौतीको सामना गर्ने मौका मिलेकामा बधाइ दिँदै अध्यक्ष ढकालले नाफिज सक्रिय आर्थिक पत्रकारहरूको साझा संस्था भएको जानकारी दिए ।
नाफिजका पदाधिकारीहरूले मन्त्री शर्मालाई अवसर र चुनौती दुवै मिलेको, आर्थिक नीति कार्यान्वयनमा अझै ठूलो कमजोरी रहेको औंल्याउँदै मन्त्री शर्माले ल्याउन लागेको श्वेतपत्र कसैलाई गाली गर्ने नभएर यस अघिको नेतृत्वले भन्दा राम्रो काम गर्ने प्रतिबद्धताका साथ ल्याउन सुझाव दिएका छन् ।
‘श्वेतपत्र जारी गर्दा अघिल्लो नेतृत्वलाई गाली गरेर मलाई हिरो बन्नु छैन’
मन्त्री शर्माले आफूले तयार पार्ने भनेको श्वेतपत्र कसैको कमजोरी देखाउनुभन्दा पनि अर्थतन्त्रको यथार्थ चित्रण गर्ने जिकिर गरे । कसैको अवमूल्यन गर्ने काम म गर्दिनँ । श्वेतपत्रले यथार्थ चित्रण गर्छ ।
केही आफ्नो कुरा प्रस्तुत गर्दा कसैलाई गलत नदेखाउने आफ्नो मान्यता रहेको उनले बताए । ‘श्वेतपत्र कसैलाई गल्ती देखाउन र आफूलाई हिरो देखाउन ल्याइने होइन । यही हो भने फिल्म खेल्ने गए भइहाल्छ’ मन्त्री शर्माले भने ।आफूलाई जे लाग्छ त्यतिमात्र बोल्नेछु, विगतको समीक्षा गरेर कसले कति गर्याे, कसले कति गरेन पनि भन्दिनँ ।’
मन्त्री शर्माले उपभोक्तामुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने आफ्नो कार्यकालको मूल योजना रहेको पनि बताए । नयाँ सरकार गठन भएको स्थितिमा आर्थिक अध्यायदेश संसदमा टेबल भएको बताउँदै उनले यसलाई टुङ्याउन पनि बाँकी रहेको तथा बुझ्न पनि आवश्यक रहेको बताए ।