काठमाडौं । नेपालमा बनेका नयाँ सवारीसाधन दर्ता गर्न मिल्ने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका– २०६० संशोधन गरिएको छ । यातायात व्यवस्था विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा नयाँ बुँदा थप गरी संशोधन गरिएको जानकारी दिएको छ ।
निर्देशिकामा दुई वटा बुँदा थप गरिएको छ । निर्देशिकामा नेपालमा बनेका सवारीसाधनको दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारी लगायत प्रयोजनका लागि भन्सार प्रज्ञापनपत्र आवश्यक नपर्ने व्यवस्था गरिएको छ । तर विदेशबाट पाटपूर्जा पैठारी गरी नेपालमा जडान गर्ने वा नेपालमा नै उत्पादन गर्ने कम्पनीलाई भ्याट बिल बिजक र कानून बमोजिम अन्तःशुल्क भने आवश्यक पर्नेछ ।
यस संशोधनपछि नेपालमा बनेका सवारीसाधन दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनःदर्ता, लिलामी दर्ता लगायत कार्यका लागि अवरोध खुला हुनेछ । नेपालमा उत्पादन भएका सवारी साधनमा हालसम्म प्रज्ञापनपत्रको अभावमा दर्ता हुन सकिरहेका थिएनन् । नेपालमा विद्युतीय मोटरसाइकल ‘यात्री’ उत्पादन हुँदै आएको छ ।