वडाध्यक्षको आफ्नै खर्चमा विद्यार्थीको बिमा

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१२ का वडाध्यक्ष उपिन्द्र खड्काले वडाभित्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको आफ्नै खर्चमा आकस्मिक दुर्घटना बिमा गराएका छन् । उनले आफ्नै खर्चमा एक हजार दुई सय २० जना विद्यार्थीको बिमा गराएको हो ।

वडा नं १२ मा सञ्चालित आठ विद्यालयका विद्यार्थीलाई बिमा कार्यक्रममा समावेश भएको ‘निको इन्स्योरेन्स’का प्रतिनिधि रवीन्द्र रिजालले जानकारी दिए । बिमावापत प्रतिविद्यार्थी दुई सय रूपैंयाँका दरले एक वर्षको प्रिमियमवापत दुई लाख ४४ हजार रूपैंयाँ वडाध्यक्ष खड्काले भुक्तानी दिएका छन् ।

बिमा गरेपश्चात विद्यार्थी दुर्घटनामा परे उपचार तथा औषधि सेवनका लागि लाग्ने सम्पूर्ण खर्च सोहीमार्फत दाबी भुक्तानी पाइने छ । चालु आर्थिक वर्षदेखि सुरु भएको आकस्मिक दुर्घटना बिमा कार्यक्रम पाँच वर्षसम्म कायम रहने वडाध्यक्ष खड्काले बताए । वडाध्यक्षका रुपमा सरकारी सेवा सुविधाअन्तर्गत उनले मासिक २६ हजार छ सय ७० रूपैंयाँ पाउँदै आएका छन् । सो रकमबाट भुक्तानीको प्रबन्ध मिलाएको र बाँकी रकमसमेत वडाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा खर्च गर्ने खड्काले बताए ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खड्का नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स