काठमाडौं । गण्डकी प्रदेशले चैते दशैंको दिन प्रदेशभरी सार्वजनिक विदा दिने भएको छ । आज बसेको प्रदेश मन्त्रीपरिषदको बैंठकले चैत १५ गते चैते दशैंका दिन प्रदेशभर सार्वजनिक विदा हुने निर्णय गरेको हो ।
यस दिन प्रदेशस्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव चण्डिका पौडेलले जानकारी दिए ।
चैत महिनामा पर्ने दशैं तथा नवरात्रीलाई चैते दशैं भनिन्छ। यसमा पनि दशैंको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन्। नेपाली चाडपर्वमा चैते दशैंको पनि महत्त्वपूर्ण स्थान रहेको छ। नेपाल भरिमा चैते दशैं विभिन्न ठाउँमा मनाइने गरिन्छ।