काठमाडौं । सानिमा बैंकले आज चैत १० गते शुक्रबारदेखि केही संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ५ लाख १० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि उक्त सेयर बैंकका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने गरी बिक्री खुला गरिएको जनाएको छ । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले न्यूनतम २ लाख कित्ताका लागि सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । तोकिएको समय अवधिभित्र संस्थापक सेयरधनीबाट सो सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ।