जसपाका मञ्जु शर्मा समानुपातिक प्रणालीबाट सांसद निर्वाचित

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) की नेतृ मञ्जु शर्मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएको जानकारी गराएको छ ।

आयोगको आज बसेको बैठकले शर्मालाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएको जानकारी दिएको छ ।

समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा निर्वाचित भएको हो । विसं २०७९ सालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जसपाबाट बन्दसूचीको क्रम ५२, लिंग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहमानको निधन भएपछि सो पद रिक्त भएको थियो ।

सो रिक्त पदमा बन्दसूचीको क्रम ५३, लिंग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम २ मा रहेकी शर्मा निर्वाचित भएको आयोगले आज प्रकाशित गरेको प्रेस विज्ञप्तिमार्फत जनाइएको छ । शर्मालाई प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा ३८ को उपदफा (२) सँग सम्बन्धित अनुसूची–३० बमोजिमको प्रमाणपत्र प्रदान गर्ने निर्णय गरिएको आयोगको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको निर्णयको जानकारी संघीय संसद् र सम्बन्धित दललाई दिइने प्रवक्ता सूर्यप्रसाद अर्यालद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स