काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन)का निवर्तमान अध्यक्ष भीष्मराज ढुंगानाको मुद्दाको मिसिल झिकाउन आदेश दिएको छ । सर्वोच्चका कायम मुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्की र न्यायधिश नहकुल सुवेदीको संयुक्त इजलाशले ढुंगानाको मुद्दामा मिसिल झिकाउने आदेश दिएको हो ।
उक्त आदेशमा प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयसँग अध्यक्ष ढुंगानालाई निलम्बन गर्दाको निर्णयकपीको मिसिल ल्याउन भनेको हो । उनलाई निलम्बन गर्दा टेकेका कानुनी आधारसहितका प्रमाणहरुसहितको मिसिल झिकाउने आदेश दिएको हो ।
अर्थ मन्त्रालयले आफूलाई स्पष्टिकरण सोधेर निलम्बन गरेपछि ढुंगानाले २०७८ भदौ २३ गते रिट सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उनले सर्वाेच्चमा ३ वटा छुट्टाछुट्टै रिट दर्ता गरेका थिए । ढुंगानाले रिटमा आफूलाई निलम्बन गर्ने, बर्खास्त गर्ने र नयाँ अध्यक्ष चयनको लागि भएका सम्पूर्ण प्रक्रिया बदर गरी बोर्ड अध्यक्षमा आफूलाई पुनर्बहाली गर्न माग गरेका छन् ।
ढुंगानाको रिटमा २०७८ फागुन ५ गते पूर्ण इजलाशले अन्तरिम आदेश नहुने आदेश दिएको थियो । त्यसपछि २०७९ फागुन २५ गते मिसिल झिकाउने आदेश भएको हो ।
मन्त्रिपरिषदले बर्खास्त गर्ने निर्णय गरेपछि सो विरुद्ध २०७८ कार्तिक ७ गते र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त भएपछि उक्त नियुक्त बदर गरी आफूलाई नै पुनर्बहाली गुर्नुपर्ने माग गर्दै २०७९ वैशाख २१ गते ढुंगानाले रिट दायर गरेका थिए । अदालतले २०७८ असोज २१ गते कारण देखाउ आदेश गर्दै अन्तरिम आदेश नहुने आदेश दिएको थियो ।
२०७८ पुस ७ गते २ न्यायधीश बीच अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे रायबाझिएपछि पूर्ण इजलाशमा सुनुवाई भएको थियो ।