एक करोड ४० लाखको लागतमा तीन वटा खानेपानी आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा एक करोड ४० लाखको लागतमा तीन वटा खानेपानी आयोजना निर्माण सुरु भएको छ । गोर्खा वेल्फेयर ट्रस्ट र उपभोक्ताको लागत साझेदारीमा निर्माण हुने आयोजनाबाट एक सय दुई घरका पाँच सय ११ जनसङ्ख्या लाभान्वित हुनेछन् ।

कूल एक करोड ४० लाख १४ हजार नौ सय ३५ को लागतमा निर्माण सुरु भएको आयोजनाबाट उपभोक्ताको घर, विद्यालय र सार्वजनिकस्थलमा एक सय आठ वटा निजी धारा जडान गरिने गोर्खा वेल्फेयर ट्रष्टका परियोजना प्रबन्धक बेलबहादुर गुरुङले जानकारी दिए ।

‘अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ मा दाना बजार, द्वारी र ४ मा पटार खानेपानी आयोजना निर्माण सुरु भएको हो,’ उनले भने ‘संस्थाले कूल लागतको ६३ देखि ६६ प्रतिशत साझेदारी गरेको छ ।’ यही फागुन महिनामा उपभोक्ता समितिसँग सम्झौता भएका आयोजना आगामी जेठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कूल ६७ लाख ६७ लागत अनुमान गरिएको दाना बजार खानेपानी आयोजना बाट निर्माण हुने ५१ धारा मार्फत २३० जनसंख्या लाभान्वित हुनेछन् । ४६ लाख ४० हजार ५५४ लागत अनुमान गरिएको द्वारी खानेपानी आयोजनामार्फत निर्माण हुने २६ धाराबाट ११२ र २६ लाख ७४ हजार ३१४ लागत अनुमान गरिएको पटार खानेपानी आयोजनाबाट निर्माण हुने ३१ वटा धाराबाट १५९ जनसंख्या लाभान्वित हुने संस्थाले जनाएको छ ।

दानाबजार, द्वारी र पटारमा यसअघि बनेका खानेपानी आयोजनाको संरचना र वितरण प्रणाली जिर्ण हुँदा स्थानीयबासीलाई समस्या भएको थियो । सबै घरमा निजी धारासहितको खानेपानी आयोजना निर्माण हुन थालेपछि स्थानीय उत्साहित भएका छन् ।

गोर्खा वेल्फेयर ट्रष्टले अन्नपूर्ण गाउँपालिकाको दश वर्षे खानेपानी सरसफाई तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । हाल खानेपानी र सरसफाईको अवस्था, आवश्यकता समेटिएको योजनाको आधारमा खानेपानी तथा सरसफाइको पुहँच विस्तारको योजना तथा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पुनले बताए ।

खानेपानी विभागको मापदण्ड अनुसार अन्नपूर्णका शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन २५ वटा थप आयोजना निर्माण गर्नुपर्ने, ९ वटा विभिन्न निकायमार्फत निर्माणाधिन रहेका र मौजुदा सहित ८९ करोड बजेट आवश्यक पर्ने योजनामा औल्याइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स