धनुषा । जनकपुर-जयनगर रेल सेवा सरकारको नीति विपरीत बीमा बिना नै संचालन भइरहेको छ । नियमित संचालनमा आएको झण्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा नगरी रेल संचालन गरेको पाइएको छ ।
विसं २०७८ चैत १२ गतेदेखि नियमित रुपमा रेल सेवा संचालन हुँदै आएको छ । भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दुरीमा दैनिक दुई पटक रेल सेवा संचालनमा छन् । सो मार्गमा संचालित दुईवटा रेल बजेट अभावका कारण बीमा नगरीकनै संचालन गर्नुपरेको नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिए । उनले भने, ‘रकम अपुग भएपछि बीमा गराउन सकिएको छैन ।’
दुवै रेलको बीमाका लागि चालु आर्थिक वर्ष २०७९/८० मा १५ लाख र गत आवमा ३० लाख विनियोजन गरिएको थियो । एउटा बोगिसहितको रेलको बीमाका लागि ९० लाख आवश्यक पर्छ । रकम अभाव भएपछि बीमा गर्न नसकिएको साहको भनाइ छ ।
‘दुवै रेलको बीमाका लागि एक करोड ८० लाख आवश्यक पर्छ’, रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भने । बीमा नगरिए पनि रेल दुघर्टना भएर कोहीले ज्यान गुमाएमा उनीहरुका परिवारजनलाई नेपाल रेल्वेको ऐनअनुसार प्रति व्यक्ति सात लाख क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको उनले बताए । झाले भने, ‘एकातिर यहाँका बीमा कम्पनी रेलको बीमा गर्न तयार छैनन् भने अर्कोतिर बीमा गर्न बजेट अभाव छ । यात्रुको मात्रै बीमा गर्ने प्रक्रिया जटिल भएकाले हालसम्म रेल र यात्रु दुवैको बीमा गराउन सकेका छैनौं ।’
जयनगर-कुर्था रेल नेपाल रेल्वे कम्पनीले संचालन गरे पनि हालसम्म दुवै रेल रेल्वे विभागको नाममा छन् । विभागले रेलको स्वामित्व कम्पनीलाई हस्तान्तरण नगरेको महाप्रबन्धक झाले जानकारी दिए । गत पुसमा वैदेही स्टेशनमा नेपाली रेलले किचेर एक यात्रुको मृत्यु भएको थियो । रेल खुल्न लागेको समयमा टिकट नलिइ चढ्ने क्रममा लड्दा किचिएर धनुषाको नगराइन नगरपालिकाका पूर्ण सदाको ज्यान गएको थियो ।
उक्त घटनाको छानबिन गरी मृतकका परिवारजनलाई क्षतिपूर्ति दिनका लागि छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले कम्पनी दैनिक लाखौं रुपैयाँ घाटामा संचालन भइरहेको, रेल तथा यात्रुको बीमा नभएको तथा मृतकले टिकट नलिएको कारण उल्लेख गर्दै क्षतिपूर्तिका लागि सिफारिस नगरेका कारण क्षतिपूर्ति दिइएको थिएन ।