आर्थिक अनियमितता पुष्टि भएपछि उपरथी शाही सेवाबाट निष्कासित

काठमाडौं । नेपाली सेनाको कोर्ट मार्सलले आर्थिक अनियमितता गरेको ठहर गर्दै उपरथी प्रेम शाहीलाई सेवाबाट निष्कासन गरेको छ । नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीका अनुसार उपरथी शाहीले आर्थिक अनियमितता गरेको पुष्टि भएपछि उनलाई सेवाबाट निष्कासित गरिएको हो ।

उपरथी शाहीले आर्थिक अनियमितता गरेको पुष्टि भएपछि बिहीबार सेनाको कोर्ट मार्सलले उनलाई सेवाबाट निष्कासित गरिएको हो । उपरथी शाहीमाथि आर्थिक अनियमितताको उजुरी परेपछि सैनिक मुख्यालयले उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गरेको थियो । उक्त कोर्ट अफ इन्क्वायरीले छानबिन गर्दा थप दुई सैनिक अधिकृतहरू पनि जोडिन आएपछि सेनाले थप अनुसन्धानका लागि दुवैलाई बोलाएको थियो ।

शाहीसँग जोडिएका थप दुई सैनिक अधिकृतहरू प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेनालाई पनि सैनिक ऐनअनुसार आन्तरिक कारबाही गरेको प्रवक्ता भण्डारीले जानकारी दिए ।

झन्डै दुई महिनाको अनुसन्धानपछि शाहीविरुद्धको फैसला सुनाएको हो । उपरथी शाहीको कोर्ट अफ इन्क्वायरीपछि गत शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक अदालतअन्तर्गत रहेर अर्का उपरथी ताराध्वज पाण्डेको नेतृत्वमा कोर्ट मार्सल गठन गरेका थिए ।

कति रकम कहाँ–कहाँ अनियमितता गरेको भन्ने फैसलाको पूर्णपाठ भने आउन बाँकी छ‚’ प्रवक्ता भण्डारीले भने‚ ‘यो प्रारम्भिक फैसला हो ।’

यसअघि प्राड विभागका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमिल्सेनालाई बुधबार सर्वोच्च अदालतले तीन दिनभित्र हाजिर गराउनका लागि नेपाली सेनालाई आदेश दिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स