दीपेश कँडेलले ह्याट्रिक गर्दा यूएईमाथि ७ रनको रोमाञ्चक जित

काठमाडौं । यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट भएको छ । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा नेपालले यूएईमाथि जित निकाल्दै विश्वकपका लागि छनोट भएको हो ।

१९२ रजको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनायो ।

यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८.५ ओभरमा अलआउट भएको हो ।

१९१ रनको लक्ष्य पछ्याएको यूएईका लागि ओपनरद्वय आर्यन सक्सेना र आर्यन शर्माले ६७ रनको सुरुवाती साझेदारी गरेका थिए । सक्सेनाले ३४ र शर्माले ३२ रन बनाए । दवावमा आएको नेपालले तीन ओभरको बीचमा तीन विकेट लिँदा २२ ओभरमा यूएई ७२-३ को अवस्थामा पुग्यो ।

त्यसपछि चौथो विकेटका लागि यूएईका इथान डिसुजा र ध्रुब परासरले ४२ रनको साझेदारी गरे । परासर १७ रन बनाएर दीपेश कँडेलको बलमा आउट भएपछि आएका अमर बदामीसँग मिलेर डिसुजाले पाँचौं विकेटका लागि ३९ रनको साझेदारी गरे । डिसुजाले ६६ बलमा ५० रनको अर्धशतकीय पारी खेल्दा बदामी १९ रन बनाउँदा रनआउट भए ।

अन्तिम तीन ओभरमा यूएईलाई जितका लागि ११ रन आवश्यक थियो । आफ्नो स्पेलको अन्तिम ओभर लिएर दीपेश कँडेल बलिङका लागि आए । सुरुवाती तीन बलमा ३ रन खर्चिँदा नेपाल हारनजिक पुगिसकेको थियो । यूएईलाई जितका लागि १५ बलमा ८ रनमात्र चाहिएको थियो ।

तर, दीपेशले लगातार बलमा विकेट लिँदै आफ्नो अभूतपूर्व बलिङ स्पेल पूरा गरे । उनको यही ह्याट्रिक विकेटले नेपाललाई ८ वर्षपछि विश्वकपमा छनोट गरायो । दीपेशले ४७.४ ओभरमा हर्षिद सेथलाई बोल्ड गरे । ४७.५ ओभरमा हरित हरिस सेट्टीलाई कप्तान देव खनालबाट क्याचआउट गराए । ओभरको अन्तिम बलमा मनिष गजेशलाई बोल्ड गरी नेपाललाई ऐतिहासिक जित दिलाए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले कप्तानमा देव खनालको अर्धशतक सहयोगमा १९१ रन बनाएको थियो । १९ रनमै सुरुवाती ३ विकेट गुमाएपछि नेपालको ब्याटिङ देव र उत्तम थापा मगरले सम्हालेका थिए । यी दुईले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरे ।

देवले ८४ बल खेल्दै ३ चौका र १ छक्कासहित ५१ रन बनाए । उत्तमले ४८ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३६ रन बनाए । मध्यक्रममा आएका विशाल विक्रम केसीले ५० बल खेल्दै ५ चौका मद्दतमा ३८ रन बनाए । छैटौं विकेटका लागि विशालले मिलन बोहरासँग ५० रनको साझेदारी गरे । मिलन १० रन बनाएर आउट भए ।

दिपेश कँडेल १५ रन बनाए भने हेमन्त धामीले १३ रन जोडे । यूएईका लागि ध्रुव पारासारले ३ तथा हरित सेट्टी, कप्तान आयान खानले २/२ विकेट लिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स