राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि १७ फागुनदेखि आचारसंहिता लागू हुने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन र उपराष्ट्रपति निर्वाचनका लागि १७ फागुनदेखि आचारसंहिता लागू गर्ने भएको छ । आयोगले फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको हो ।

फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

आयोगले मंगलबार एक सूचना प्रकाशित गर्दे संघीय संसदका ३३२ र प्रदेशसभााका ५५० जना गरी ८८२ मतदाता रहने निर्वाचनका लागि १७ फागुनदेखि ५ चैतसम्म आचारसंहिता लागू हुने बताएको हो ।

आयोगको निर्णय बमोजिम उक्त आचारसंहिता देहायका व्यक्ति, संस्था तथा अधिकारीलाई लागू हुनेछ :
(क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
(ख) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,
(ग) संघ, प्रदेश र स्थानीय तहका कर्मचारी,
(घ) सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,
(ङ) सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी,
(च) राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,
(छ) उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि,
(ज) राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि,
(झ) सार्वजनिक पद धारण गरेको व्यक्ति,
(ञ) सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,
(ट) मतदाता

नेपालको संविधानको पालना र संरक्षण तथा राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने राष्ट्राध्यक्ष जस्तो सर्वोच्च र गरिमामय पदको निर्वाचनमा निर्वाचन सम्बन्धी कानून र आचारसंहिता पालनाको विषयमा प्रश्न उठ्नु कुनै पनि दृष्टिकोणबाट शोभनीय हुन नसक्ने आयोगले जनाएको छ। त्यसैले निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम गर्नु सम्वद्ध सबै पक्षको दायित्व र जिम्मेवारी भएको आयोगले उल्लेख गरेको छ ।

कानूनी आधार र प्रावधानसहितको नैतिक बन्धनको रूपमा रहेको आचारसंहिताको पालना गरी संघीय संसद र प्रदेश सभाका सदस्य रहेको निर्वाचक मण्डलका सबै मतदाताहरूको स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने अधिकारको सम्मान गर्न तथा निर्वाचनको निष्पक्षतामा कहीँ कतैबाट प्रश्न उठाउन नपाउने गरी निर्वाचन सम्पन्न गर्ने आयोगको सत्प्रयासमा सबै क्षेत्रबाट सहयोग हुन आयोगले अपिल गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स