सांसद भण्डारीको आमाको निधन, घाइते डा. भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै

काठमाडौं । ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीका आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ ।

कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले जानकारी दिइन् ।

उनका अनुसार आज बिहान करिब १० बजेर ५७ मिनेटमा उनको निधन भएको हो । आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशतसम्म जलेको सो अस्पतालले जनाएको थियो ।

त्यस्तै, डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ ।

श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिए ।

उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लैजान लागिएको हो । हिजो राति घाइते भएका नेता डा भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो ।

निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा. भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५-३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स