काठमाडौं । गए राति खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ ।
नेता भण्डारीसँगै उनका आमा ८६ वर्षीया हरिकलाको पनि आइसियुमै उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले जानकारी दिइन् । गए राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिण्डर पड्किएर दुवैजना घाइते भएको हो ।
अस्पतालका जलन उपचार विभागका प्रमुख डा. किरण नकर्मीका अनुसार नेता डा. भण्डारीको अनुहार, दुवै हात र गोडामा २५–३० प्रतिशत तथा आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको छ ।
डा. भण्डारी र आमा हरिकलाको श्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको डा. नकर्मीको भनाइ छ । नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण (सिफारिस) गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।