पशुपति क्षेत्रस्थित मूल मन्दिरको पश्चिमी भागमा काठको सिँढी

काठमाडौं । महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रस्थित मूल मन्दिरको पश्चिमी भागमा काठको सिँढी निर्माण गरिएको छ ।

मूल मन्दिरको पश्चिम भागमा फलामको सिँढी हटाएर सम्पदामैत्री काठको सिँढी राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए । यसबाट महाशिवरात्रिमा छोटो समयमा धेरै दर्शनार्थीलाई दर्शन गराउन सकिने विश्वास लिइएको छ ।

सम्पदामैत्री काठको सिँढी निर्माणमा नेपाली सेनाको कालीदल गणले पनि सहयोग गरेको कोष संस्कृति महाशाखा प्रमुख गौरीशंकर पराजुलीले बताए । पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सौन्दर्यतामा असर नपर्ने गरी काठको सिँढी राखिएको हो ।

मूल मन्दिरको पश्चिम भागबाट अन्य भागमा पनि काठको सिँढीलाई विस्तार गर्ने योजना रहेको पनि कोषले जनाएको छ । महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रका सम्पदामा रङरोगनका साथै मर्मत सम्भार पनि सुरु गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स