लेखनाथ । ‘घरको आँगनमा घाम तापेर कुर्सीमा बसिरहेको थिए, आइतबार बिहान ११ बजे एक्कासि जहाज घरको छतलाई नै छुनेगरी उत्तर तर्फबाट कोल्टिँदै आयो, हेर्दाहेर्दै घरको एक सय मिटर पूर्वको सेती डिलको बाँस घारीमा ठूलो आवाज दिँदै बजारियो । जहाजको एक टुक्रा म बसिरहेको कुर्ची नजिकै आएर बजारियो’, जहाज दुर्घटना स्थलको एक सय मिटर पश्चिम स्यालदुले निवासी ८७ वर्षीय बबरजंग गुरुङले भने, ‘आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखेको थिइनँ ।’
‘जहाज बजारिएपछि आगोको मुस्लोसहित धुवाँले गाउँ नै ढाक्यो, केही समयपछि पुलिस र आर्मी आइपुगे, मसहित मेरो परिवार र वरपरका छिमेकीसमेत ठूलो कालले बाच्यौं भनेर घरभित्र पस्यौं तर आगो फैलिन्छ कि भन्ने चिन्ता झन् बढ्न थाल्यो । पछि जहाजमा लागेको आगो नियन्त्रणमा आयो’, उनले भने ।
सेती खोंचको पूर्वी भागमा डिलको बाँसको थानमा बजारिएको विमानका केही टुक्रा सेती खोंच वारि, केही टुक्रा पारि र केही टुक्रा खोंचमा खसेका छन् । शवहरु केही डिलमा अड्किएको भए पनि अधिकांश सेती खोंचमा नै खसेका छन् ।
आज बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा विमान दुर्घटना भएको थियो । विमानमा ६८ यात्रु र चारजना चालक दलका सदस्यसहित ७२ जना सवार थिए । दुर्घटनाग्रस्त ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो र नयाँ विमानस्थलबीचको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।
दुर्घटनास्थल नजिकै नयाँगाउँ निवासी विष्णुहरि सापकोटाले भने, ‘उत्तरतर्फको काहूँ डाँडातर्फबाट पुरानो विमानस्थलमा आज जहाज आयो भनियो । तर, जहाज पुरानो विमानस्थलबाट पश्चिम मोडेर नयाँ विमानस्थलमा लाने क्रममा एक्कासि ढलपल ढलपल हुँदै सेती नदीको खोंच डिलको बाँसको थानमा छुन पुग्यो । अनि ठूलो आवाजसहित भुईमा खस्यो । हामी दौडेर त्यहाँ पुग्दा आगोको मुस्लोसहित धुवाँ आइरहेको थियो’, उनले भने ।
‘दुर्घटनास्थलमा जान सक्ने अवस्था थिएन । केही समयपछि आएका सुरक्षाकर्मीले पानीको फोहोराले आगो निभाउने प्रयास गरे, केही समयपछि आगो नियन्त्रणमा आएको भए पनि सेती खोंचमा रहेको लास जलेको गन्ध आइतबार दिनभरि आइनै रहेको छ’, स्थानीय सापकोटाले भने । सेती खोंचको पूर्वी भागका एक दर्जन घर विमानचालकले बचाएर सेती खोंचमा खसालेको अनुमान स्थानीय प्रीती गुरुङले भनिन् ।
अर्का प्रत्यक्षदर्शी स्थानीय मनिषा परियारले भने, ‘हामी त घाम तापेर बसिरहेका थियौं, जहाज कोल्टे–कोल्टे हुँदै आयो, के भएछ भनेर हेरियो’, उनले भने, ‘त्यसको एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो, अनि त हामी झनै आत्तियौं ।’
विमान कोल्टे परेको दुईतीन मिनेटमै सेतीको खोंचमा ठोक्किएको उनले जानकारी दिए । विमान खोंचमा खसेकाले बस्ती जोगिएको उनको भनाइ थियो । ‘कोल्टे कोल्टे हुँदै वारि ठोकिएर पारि जोतिन पुग्यो, अनि आगो बल्न सुरु भइहाल्यो’, मनिषाले भनिन्, ‘धन्न हाम्रै घरमाथि खसेन जहाजको क्षति त हुन्थ्यो नै हाम्रो पनि बिचल्ली हुन्थ्यो ।’
आगो बल्न थालेपछि बाल्टीमा पानी लिएर गए पनि उद्धार गर्न नसकेको उनले बताए । केही स्थानीयले प्रहरीलाई खबर गरे पनि जलिरहेको जहाज हेर्नुभन्दा अर्को उपाय नभएको उनको भनाइ थियो । ‘एकै छिनमा आगो बल्न सुरु भयो । हामीले बाल्टीमा पानी बोकेर त गयौं तर त्यसले के हुन्थ्यो ?’ उनले भने, ‘कसैले प्रहरीलाई फोन गर्न तिर लाग्यौं । केही छिनमा बोरिङको ट्यांकर पनि आयो त्यसपछि दमकल, एम्बुलेन्स, प्रहरी, आर्मी सबै आए । अनि बल्ल हामीलाई बाँच्नेहरु बाँच्छन् कि भन्ने भयो ।’
पोखराको सेती खोंचमा आज बिहान भएको विमान दुर्घटनामा परेकामध्ये ४ः३० बजेसम्म ६२ वटा शव निकालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए ।
दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गर्ने विमान थियो । उक्त विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन् । यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो ‘डेमो’ उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटिआर विमान दुर्घटना भएको यो पहिलो घटना भएको बताइएको छ ।
उक्त विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए । जहाजमा नेपाली ५३, भारतीय नागरिक पाँच, रसियन चार, आयरल्यान्डका एक, अस्ट्रेलियन एक, अर्जेन्टिनी एक, कोरियन दुई, फ्रान्सेली एक गरी ६८ यात्रु र चालक दलका चारसदस्य थिए । जहाज खोंचमा परेकाहरूकाले उद्धारमा कठिनाइ आएको उद्धारमा खटिएका सुरक्षाकर्मी बताउँछन् । (((