नेपालमा हालसम्म १०४ वटा हवाई दुर्घटना, ९ सयभन्दा बढीको मृत्यु

कहाँ कहाँ र कहिले कहिले भयो यतिको जहाज दुर्घटना

काठमाडौ । नेपालको हवाई उड्ययन इतिहासमा आइतबार पोखराको दुर्घटना सहित हवाई दुर्घटनाको संख्या १०४ पुगेको छ । आज भएको दुर्घटना आन्तरिक उडानतर्फ सबैभन्दा ठूलो हो । यसअघि एटीआर ७२ विमान नेपालमा दुर्घटना भएको थिएन ।

नेपालको इतिहासमा २०१२ वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो । आज यती एयर दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणको ‘एभीएसन सेफ्टी रिपोर्ट’ अनुसार व्यवसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको यो ५० औं दुर्घटना हो ।

नेपालमा हालसम्म एक इन्जिनयुक्त आठ वटा दुर्घटना भएका छन् भने र विदेशी १० वटा वायुसेवा, आन्तरिक व्यवसायिक ५० र हेलिकप्टरतर्फ ३६ समेत गरी नेपालमा हालसम्म १ सय ४ वटा दुर्घटना भइसकेका छन् ।

यी दुर्घटनामा अहिलेसम्म साढे ८ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । आइतबारको पोखरा दुर्घटना बाहेक हालसम्म यी हवाई दुर्घटनामा ८ सय ४९ को मृत्यु भएको छ । जसमा आन्तरिकतर्फ ३ सय ६४, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५, हेलिकप्टरतर्फ ८५ र विदेशी वायुसेवातर्फ ३ सय ७५ गरी गरी जम्मा ८ सय ४९ को मृत्यु भइसकेको छ ।

आइतबार पोखराका लागि चार चालक दल र ६८ जना यात्रु बोकेर काठमाडौंबाट उडेको यती एयरको एटीआर विमान घटना यती समूहको २४ वर्षयता भएको १४ औं हवाई दुर्घटना हो । ‘उड्डयन सुरक्षा प्रतिवेदन (एभिएसन सेफ्टी रिपोर्ट)– २०२२’ का अनुसार सन् २००० देखि २०२२ को मे महिनासम्म नेपालमा ३२ वटा विमान दुर्घटना भएका छन् । पोखरामा आइतबार भएको दुर्घटना नेपालमा पछिल्लो २३ वर्षमा भएको ३३ औं दुर्घटना हो ।

यती एयरलाइन्सको विमान दुर्घटना इतिहास हेर्ने हो भने पछिल्लो पटक यती एयरलाइन्सअन्तर्गतको तारा एयरको विमान गत जेठमा जोमसोममा दुर्घटनामा परेको थियो । गत जेठ १५ मा पोखराबाट जोमसोमतर्फ गएको विमान मुस्ताङको घासा क्षेत्रको टिटी भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको थियो ।

त्यसका साथै सन् २०१७ मा सिमकोटमा, सन् २०१६ मा म्याग्दी, सन् २०१२ मा डोल्पा, सन् २०१० मा ओखलढुंगा, सन् २००८ मा लुक्ला, सन् २००६ मा बाजुरा, सन् २००६ मा जुम्ला, सन् २००४ मा सोलुखुम्बु र सन् २००१ मा तुम्लिङटारमा यति एयरलाइन्स र यसअन्तर्गत रहेको तारा एयरको विमान दुर्घटनामा परेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स