लाहान । सिरहाको मिर्चैया-३ मा रहेको विद्यालयमा अध्ययनरत एकजना छात्राको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।
शुक्रबार विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर विरामी भएकी सगरमाथा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारको क्रममा निधन भएको थियो ।
शनिबार राति १२ बजे उपचारको क्रममा फुलबारी मेमोरियल अस्पतालमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिबहादुर वलीले जानकारी दिए ।
छात्राको मृत्यु भएपछि आक्रोशित विद्यार्थी र अभिभावकले विद्यालय तोडफोड गरेका छन् । आन्दोलनका क्रममा भिडले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरी नारावाजी समेत गरेका थिए ।
आक्रोशित आन्दोलनकारी अनियन्त्रित भएपछि भीडलाई तितरवितर बनाउन तीन सेल अश्रु ग्यास र पाच राउण्ड हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले जानकारी दिए ।
गत शुक्रबार सामान्य पेट दुखेपछि विद्यालयकी शिक्षिका अम्बिका लम्सालले औषधि खाने क्रममा पानीको सट्टा स्प्रिट पिलाउँदा छोरी बिरामी भएको बुबा धर्मेन्द्र महराले बताए । स्प्रिट पिएपछि बिरामी भएकी सृनजालाई उपचारको नगरी विद्यालयका प्रिन्सिपल प्रदीप तिवारीले घर पु¥याएकाले समयमै उपचार हुन नसकेको उनले बताए ।
‘प्रन्सिपल सरले थोरै स्प्रिट पिएकाले नसा लागेको र केहीवेर सुताएपछि निको हुन्छ भनेपछि हामीले विश्वास गर्यौ’, उनले भने, ‘अवस्था खराव हुँदै गएपछि अस्पताल पु¥यायौं तर ढिला भइसकेको रहेछ ।’
दुईजना प्रहरी नियन्त्रणमा
प्रहरीले औषधि दिने शिक्षिका अम्बिका लम्साल र प्रिम्सिपल प्रदीप तिवारीलाई नियन्त्रणमा लिएको छ । मृतकका बुबा धर्मेन्द्रले दोषिमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् । जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
डिएसपी वलीले घट्ना सम्बन्धमा छानबिन भइइहेको बताए । ‘विद्यालयले पनि घट्ना स्वीकार गरिसकेको छ, स्प्रिट पिउने अवस्था कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी छ, उनले भने ।