काठमाडौं । भारतबाट नेपाल प्रवेश गर्न आएका मानिसहरुको वीरगन्ज नाकामा स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको छ । भारतमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढेसँगै वीरगन्ज–रक्सौल नाकामा कोरोना सङ्क्रमित भए नभएको स्वास्थ्य जाँचलाई तीव्र पारिएको छ।
ओमिक्रोन बी एफ ७ भेरियन्टबाट सङ्क्रमित बिरामीलाई नेपाल प्रवेश गर्नबाट रोक्न वीरगञ्जको शङ्कराचार्यद्वारस्थित ‘हेल्थ डेस्क’मा स्वास्थ्यपरीक्षणसँगै एन्टिजेन किटबाट सङ्क्रमित भए नभएको परीक्षण गरिएको हेल्थ डेस्क प्रमुख डा अनिसा महतोले जानकारी दिईन।
उनले पुस १ गते देखि १९ गते सम्म सात हजार पाँच सय जनाको स्वास्थ्यपरीक्षण र एक हजार दुई सय ७२ जनाको एन्टिजेन टेष्ट गर्दा हालसम्म कोही सङ्क्रमित नभेटिएको बताईन । पहिले बिहान र बेलुका मात्र एन्टिजेन टेष्ट हुँदै आएकोमा पछिल्लो समय भारतमा सङ्क्रमितको सङ्ख्या बढेपछि आवश्यताका आधारमा परीक्षणलाई बढाएको उनले जानकारी दिईन ।
ओमिक्रोन बी एफ ७ हालसम्मकै सबै भन्दा बढी सङ्क्रमक रहेकाले यसबाट जोगिन सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालाना गर्न सर्वधारणलाई चिकित्सकले सुझाएका छन्।