काठमाडौं । नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष तथा बाग्मती प्रदेश सभा सदस्य डा. दिनेशचन्द्र देवकोटाले देशमा रहेका वामपन्थी मतलाई सम्मान गर्नुपर्ने वताएका छन् ।
बाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित भएकोमा डा.देवकोटालाई बधाई ज्ञापन गर्न नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएको हो । वामपन्थी पार्टी नेतृत्वको वर्तमान गठवन्धन सरकारले वामपन्थी मतलाई सम्मान गर्न सक्नुपर्ने वताउँदै देवकोटाले बाग्मती प्रदेश सभामा बुद्धिजीवीको प्रतिनिधिका रुपमा आफूले फरक र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्दता व्यक्त गरे ।
राष्ट्र निर्माणमा प्रभावकारी भूमिका खेल्न सक्ने बुद्धिजीवीहरुलाई पार्टीले पहिचान गर्न थाल्नु सकारात्मक भएको समेत उनको धारणा छ । बधाई कार्यक्रममा बोल्दै परिषद्का महासचिव गजेन्द्र थपलियाले जनसंगठनको मान्यता पाएपछि पार्टीले पहिलोपटक परिषद्लाई यस्तो अवसर उपलव्ध गराएको बताए । बुद्धिजीवीलाई पहिचान गरेकोमा पार्टीलाई धन्यवाद दिदैं महासचिव थपलियाले अध्यक्ष देवकोटालाई सफल पार्न सवै बुद्धिजीवीहरुले भूमिका खेल्ने बताए ।
कार्यक्रममा बोल्दै परिषद्का सचिव ऋषि खनालले पार्टीले बुद्धिजीवीलाई पहिचान गर्दा सकारात्मक सन्देश गएको बताए । यसैगरी परिषद्का सचिवालय सदस्य डा. रामहरि लामिछानेले डा. देवकोटामा रहेको विज्ञता र सकारात्मक सोचले यस प्रदेशको भौतिक पूर्वाधार र सामाजिक विकासमा योगदान पुग्ने बताए । यसैगरी केन्द्रीय सदस्य डा. राजेन्द्र चापागाइले आलोचनात्मक चेतका साथ अरुले नसोचेका, नथालेका कामको थालनी गर्न र निष्कर्षमा पुर्याउन सुझाव दिए ।
लामो समयदेखि परिषद्को नेतृत्वमा रहेका देवकोटा नेकपा एमालेका तर्फबाट बाग्मती प्रदेश सभा सदस्यमा समानुपातिक प्रणालीबाट निर्वाचित भएको हो । उनले यस अगाडि राष्ट्रिय योजना आयोगको उपाध्ययको जिम्मेवारी निर्वाह गरिसकेका छन्।
कार्यक्रममा गोविन्द शाही, टिका ढकाल, डा. शिव अधिकारी, विपिन चित्रकार लगायतका बुद्धिजीवीहरुले राष्ट्र निर्माणमा बुद्धिजीवीहरुको भूमिकालाई पार्टी र सरकारले थप पहिचान गर्नुपर्ने बताएका थिए ।