तमु ल्होसारलाई सरकारी सहयोग बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु ल्होसारको सम्मान र सहानुभूतिका निम्ति सरकारले दिने आर्थिक सहयोग रोकिएकोप्रति आफ्नो ध्यानाकर्षण बताएका छन् । तमु समुदाय र पुर्खाहरुले आफ्नो वीरतामार्फत् आर्जन गरेको गौरवशाली परम्परालाई सबैले सम्मान गर्नुपर्ने बताउँदै सरकारी सहयोग विगतमा भन्दा बढाउने घोषणासमेत गरे।

‘आफ्नो इमान्दारिता, लगन, निष्ठा र मिहेनत, आफ्नो वीरता र बलिदानको कीर्तिमानका कारण तमु समुदाय नेपाली मात्रमा गर्वको एउटा पहिचान भएको छ भने विश्वभरका लागि इमान्दारिता, पारदर्शिता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायका रुपमा स्थापित छ’, उनले भने। ल्होसार पर्व तमु समुदाय मात्र नभई सम्पूर्ण नेपालीले गर्व गर्ने पर्वका रुपमा रहेको उनको भनाइ छ ।

नेपाल बहुजातीय, बहुभाषिक, सांस्कृतिक विविधताले भरिएको मुलुक भएको जनाउँदै प्रधानमन्त्री दाहालले विविधतामा एकता नै नेपालीको पहिचान भएको बताए । ‘परापूर्वकालदेखि यस भूखण्डमा विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको सम्मिश्रणद्वारा नै नेपालको समग्र राष्ट्रिय पहिचान बनेको छ”, उनले भने, ‘सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको असली पहिचानमा नै नेपालको राष्ट्रिय पहिचान अन्तरनिहित छ ।’

बाघ वर्गको विदाइ र बिरालो वर्गको स्वागतका रुपमा गुरुङ समुदायले आज देशभर हर्षोल्लासका साथ ल्होसार पर्व मनाउँदैछन् । सो अवसरमा गुरुङ समुदायले विभिन्न झाँकी प्रदर्शन गरेका थिए । टुँडिखेलमा गुरुङ वेशभूषासहित युवायुवतीको बाक्लो उपस्थिति थियो । कार्यक्रम परिसरमा गुरुङ समुदायको खानाको परिकार राखिएको थियो । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौंले आज राजधानीको टुँडिखेलमा आयोजना गरेको ‘तमू ल्होसार, २०७९’ कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स