काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गठबन्धन तोड्न सफल भएका छन् । गठबन्धनमा जुटेका दलहरू एक/एक गर्दै सरकार गठनको लागि उनको निजी निवास पुगेका छन् । अहिले शक्ति बाँडफाँटको विषयमा कुरा नमिलेपछि गठबन्धन टुटेको हो । अब सरकार कसरी बन्छ भन्ने विषयले सर्वत्र चासो छाएको छ ।
एमालेले सत्तारुढ गठबन्धन भत्काउनका लागि चुनाव अघि नै प्रयास गरेको थियो। । तर, निर्वाचनसम्म एक ढिक्का रहेको गठबन्धन यतिबेला शक्ति बाँडफाँटको विषयमा आएर टुटेको हो ।
एमालेले सत्तारुढ गठबन्धनमा रहेका दुई ठूला दल कांग्रेस र माओवादी केन्द्रलाई छुट्टाछुट्टै प्रस्ताव राखेकै कारण सत्तारुढ गठबन्धनमा फाटो देखिएको हो । सत्तारुढ गठबन्धन एक ढिक्का रहेको अवस्थामा आफ्नो भूमिका कमजोर हुने देखेर एमालेले कांग्रेस र माओवादी केन्द्रबीच फाटो ल्याएलगत्तै यतिबेला एमालेकै भूमिका निर्णायक बनेको छ ।
सत्ता गठबन्धन बिथोदिएपछि एमालेले कांग्रेस वा माओवादी केन्द्रमध्ये जुन दललाई समर्थन जनाउँछ, उसैको नेतृत्वमा सरकार गठन हुन सक्ने सम्भावना बढेको छ । अहिले यो सहमति जुटाउन नेकपा एमाले केपी ओली शर्माको निजी निवासमा सरकार बनाउन छलफलमा जुटेका छन् ।
केहि जानकारहरूका अनुसार अब मुलुक संविधानको धारा ७६ को उपधारा ३ मा प्रवेश गर्ने तर्क अघि सारेका छन् । उपधारा २ बमोजिम कसैले पनि बहुमतसहितको दाबी गर्न नसकेको अवस्थामा राष्ट्रपतिले धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेतालाई मन्त्रिपरिषद् गठनका लागि आह्वान गर्ने सम्भावना बढेको हो ।
यो अवस्थामा पनि एमालेकै भूमिका निर्णायक हुन सक्छ । एमालेले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन जनाएको खण्डमा कम्तीमा आगामी २ वर्ष यो सरकार रहन्छ । अन्यथा, उपधारा ३ बमोजिमको प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन नसकेको अवस्थामा धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त हुन सक्छ । त्यस्तो प्रधानमन्त्रीले नै प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जान सक्ने अधिकार पनि रहेको छ ।
एमालेले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नै सरकार गठनका लागि माओवादी वा कांग्रेसमध्ये कुनै एक शक्तिलाई समर्थन जनाउँछ वा उपधारा ३ मा प्रवेश गराउँछ भन्नेबारे प्रस्ट हुन केही समय लाग्ने देखिन्छ । उपधारा ३ बमोजिमको सरकारलाई पनि ३० दिनसम्म मात्र कायम राख्ने वा कम्तीमा २ वर्ष टिकाउने भन्नेमा अब एमालेकै भूमिका महत्वपूर्ण हुने भएको छ ।