मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्भ’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो । जसका कारण सबै पानी अझै राजधानीमा वितरण हुनसकेको छैन । आज बेलुकीदेखि भने १२ करोड लिटर पानी वितरण गरिने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।

मेलम्चीको पानी राजधानीमा वितरणका लागि बनाइएका १० पानी ट्यांकीमध्ये हालसम्म आठ वटामा पानी पुगिसकेको छ । हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महांकालचौर, पानीपोखरी, अनामनगर र बालाजुका पानी ट्यांकीमा मेलम्चीको पानी पुगेको छ । कीर्तिपुर र बाँसबारीका ट्यांकीमा चार दिनभित्र पानी पुग्ने उनले सुनाए । चार दिनभित्रमा १७ करोड ५० लाख लिटर पानी नै ग्राहकका धारामा पुग्ने छ ।

मेलम्ची खानेपानी आयोजनाले भने मङ्सिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी राजधानीमा ल्याइसकेको प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । सुरुङ् सफा गरेर मङ्सिर २३ गते शुक्रबारदेखि राजधानीमा खानेपानी वितरण भइरहेको छ । कति ठाउँमा पाइप फुटेका कारण सडकमा पानी जाने समस्या पनि भइरहेको छ । त्यो समस्या समाधान गर्दै पानी वितरण भइरहेको केयुकेएलले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स