थापाथलीको सुकुम्वासी बस्ती हटाउन खोजेपछि झडप, नगर प्रहरी प्रमुखसहित १७ जना घाइते

काठमाडौं । काठमाडौं महानगरले थापाथलीस्थित वाग्मती किनारको सुकुम्वासी बस्ती हटाउन खोजेपछि झडप भएको छ। बस्ती हटाउनका लागि आज दिउँसो काठमाडौं महानगरको नगर प्रहरी र डोजर पुगेको थियो ।

महानगर प्रहरी र सुकुम्वासीबीच मुठभेड हुँदा साढे चार घण्टासम्म थापाथली परिसर असान्त बन्न पुगेको थियो । झडपमा महानगरका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते भएका छन् । सुकुम्बासी बस्तीका स्थानीयले प्रतिकार गर्ने क्रममा पाण्डेको टाउको फुटेको छ भने अन्य नगर प्रहरी सामान्य घाइते भएका हुन् ।

बस्ती हटाउने सूचना पाएपछि सुकुम्वासी बासिन्दा विरोधमा उत्रिएका थिए । उनीहरूले महानगर प्रमुख बालेन साह विरुद्ध नारा लगाएका थिए । बस्ती परिसरका सडकमा टाएर बाल्दै उनीहरू ढुंगामुढामा उत्रिएका थिए । ‘यसरी जबरजस्ती उठिबास लगाउन खोज्ने ? हामी सधैं डोजर आतंकमा बस्न चाहादैनौं । हाम्रो रहर हैन । विकल्पसहित महानगर आउँछ भने हामी छोड्न तयार छौं’, लामो समयदेखि यही बस्दै आएकी स्मीता आचार्यले भने, ‘मेयर साहसँग हामीले पटकपटक वार्ता गर्न चाहेका थियौं । तर उनले समय दिएनन् । आज यसरी जबरजस्ती सुरक्षा बल प्रयोग भयो ।’

केही बासिन्दाहरु विरोधमा उत्रिरहँदा केही भने घरबाट सामान निकाल्न व्यस्त थिए । यही बस्तीमा १७ वर्षदेखि बस्दै आएको ६५ वर्षीय रत्नबहादुर श्रेष्ठ घरभित्रका सामान बाहिर ओसार्न व्यस्त थिए। ‘म काममा थिए । यहाँ डोजर आएको थाहा पाउने वित्तिकै घर आए । सामान त निकाल्न प¥यो नि १ स्कुले नातीलाई पनि बस्ती हटाउनका लागि छिटो बिदा दिएछन् ।’

पुरानो ठेगाना सर्लाही भए पनि त्यहाँ आफ्नो जग्गा जमिन नभएको बताउने उनले भोट माग्न आउने नेता र स्थानीय नेताको प्रतिज्ञाले निराश मात्र बनाएको आक्रोश पोखे । काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानान्धरले एकीकृत वाग्मती सभ्यता विकास समितिलाई सहयोग गरेको बताए, ‘वाग्मती सफा र स्वच्छ राख्ने अभियानका लागि सुकुम्वासी बस्ती हटाउने भनेपछि महानगरले सहयोग गरिरहेको छ ।’

उनले समितिले ४ गते मङ्सिरसम्मको अवधि दिए पनि बासिन्दाले अटेर गरेको बताए, ‘उनीहरूलाई बस्ती हटाउन १० दिनसम्म म्याद दिएका थियौं । अटेर गरेपछि आज गएका हौं । यद्यपि आज बस्ती हटाउन सक्ने अवस्था छैन ।’ यस सुकुम्वासी बस्तीमा एक सय ३६ घर रहेको छ । केहीबेर बासिन्दा र नगर प्रहरीबीच सामान्य मुठभेड भएको थियो । बस्ती तनावग्रस्त बनेपछि नगर प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी खटाइएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स