प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको छ ।

‘तीनवटा घेरा बनाएर सुरक्षा व्यवस्था मिलाएका छौं’, उनले भने, ‘मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा सेनाले सुरक्षा दिइरहेका छन् ।’

प्रजिअ जोशीका अनुसार निर्वाचनका बेला मोबाइल टोली पनि परिचालन गनेछ भने ‘रिजर्भ टिम’ पनि तयार पारिएको छ । ‘रिजर्भ टिम आवश्यकताअनुसार मात्रै परिचालन हुनेछ’, उनले भने ।

डडेल्धुरामा एक सय एक मतदानस्थल छन् । जसमध्ये २३ वटा अति संवेदनशील, ४१ संवेदनशील र ३७ सामान्यमा वर्गीकरण गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री र सुरक्षाकर्मीसहित कर्मचारी पुगिसकेका छन् ।

‘कर्मचारी मतदान केन्द्रमा पुगेर सर्वदलीय बैठक पनि भइसकेको छ’, उनले भने, ‘बुथ निर्माणको कार्य पनि सुरु भइसकेको छ । भोलिसम्म सबै तयारी सकिन्छ ।’

एउटा मतदान केन्द्रमा म्यादी प्रहरीसहित सात देखि १२ जना सुरक्षाकर्मी र आठजना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री देउवासहित आठजना उम्मेदवार छन् । यस्तै दुई प्रदेशसभा सदस्यका लागि १२ जना उम्मेदवार छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स