काठमाडौं । डोटी केन्द्रविन्दु भएर मंगलबार रातिमात्रै ३ भूकम्प गएको छ । मंगलबार राति ९.७ मिनेट जाँदा ५.७ म्याग्निच्युड, ९.५६ जाँदा ४.१ म्याग्निच्युड र मध्यराति २.१२ मिनेट जाँदा ६.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जन घर भत्किएका छन् । भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने अरु ५ जना घाइते भएका छन् ।
त्यसअघि पनि राति ९ः७ बजे दिपायलमा केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि यहाँ पटक पटक झट्का महसुुस भएको थियो । भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए ।
मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताए ।
भूकम्पमा परी ५ जना घाइते रहेका र उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताए । थप उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । स्थानीय शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरमा क्षति पुगेको छ ।
भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा समेत ठाउँ ठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिए ।
यता बझाङमा पनि भूकम्पको धक्कापछि यहाँका स्थानीय खुला ठाउँमा जाग्राम बसेका छन् । मध्यराति २ बजे गहिरो निद्रामा रहेका बेला एक्कासी भागाभाग भएको खप्तडछान्ना गाउँपालिका बझाङका स्थानीयले बताए । खप्तडछान्ना– ५ कि लक्ष्मीदेवी जोशीले गाउँभरिका मानिस आगो बालेर बाहिर बसेका बताइन् ।
उनका अनुसार पुराना घरहरू भत्किएका छन् भन्ने खबर छ । राति हुनाले केही जानकारी आउन सकेको छैन । जिल्ला सदरमुकाम चैनपुर बझाङमा पनि कैयौँ मानिस सुदूरपश्चिमाञ्चल बोडिङ स्कुलको चौरमा भेला भएका छन् । पछिल्लो केही समय यता सुदूरपश्चिममा पटक पटक भूकम्पको धक्का महसुस भइरहेको छ ।
पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ का ६ मुत्यु भएको स्थानिय प्रशासनले जानकारी दिएको छ । पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको छ । भुकम्पले घर भत्काउँदा उनीहरुको ज्यान गएको हो।