काठमाडौं । बीमा समितिले कोरोना बीमा बापतको दावी भुक्तानी रकम वितरण गर्न सुरु गर्ने निर्णय गरेको छ । बीमा समितिले बिहिबार निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन बिमक संघसँग छलफल गरि भुक्तानी प्रक्रिया अगाडि बढाएको हो।
सरकारले एक अर्ब रुपैयाँ रकम दिएपछि बीमा समितिले पिसिआर परिक्षणमा पोजेटिभ देखिएर पहिलो दावी गर्नेलाई प्राथमिकतामा पहिले पाउने गरी तत्काल भुक्तानी गर्न सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कार्तिक १४ गते बसेको मन्त्रीस्तरको बैठकले कोरोना बीमाको दाबी भुक्तानीका लागि समितिमा प्राप्त भएको रकम एक अर्ब सहित एक अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएको छ ।
सरकारबाट आएको एक अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानि बाँकी ४५ प्रतिशत मध्ये २५ प्रतिशत निर्जीवन बीमा कम्पनी, ८ प्रतिशत बीमा समिति र १२ प्रतिशत नेपाल पुनर्बीमा सहित १ अर्ब ८१ करोड रुपैयाँको दाबी भुक्तानी गर्नु पर्ने भएको छ ।
कोरोना बिमा मापदण्ड अर्थात पहिलाको सम्झौताको मोडालीटि परिर्वतन गरि बाँकी रहेको भुक्तानीमा थप ४५ प्रतिशत दायित्व कम्पनीले बहन गर्ने निर्णय भएको थियो। अझै १० अर्ब भन्दा बाँकी रकम भुक्तानी हुन बाँकी छ।
अर्थमन्त्रालयले गत असोज २५ गते बीमा समितिबाट प्राप्त सुझाव अनुसार यस्तो व्यवस्था मिलाएको हो । मन्त्रालयका अनुसार बीमा समितिले नेपाल सरकारबाट कोरोना दाबी भुक्तानीको लागि प्राप्त रकमलाई ५५ प्रतिशत मानी बाँकी ४५ प्रतिशत रकम बीमक, पुनर्बीमक र बीमा समितिले व्यहोरी कोरोना बीमाको दाबी भुक्तानीको व्यवस्था मिलाउने सुझाव दिएको थियो । जसमा ४५ प्रतिशत मध्ये कोरोना बीमा पुलमा समावेश भएका सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुले २५ प्रतिशत दाबी भुक्तानी बेहोर्नु पर्ने भएको छ ।
त्यस्तै बीमा समितिले ८ प्रतिशत बेहोर्नु पर्ने भएको छ भने नेपाल पुनर्बीमा कम्पनीले १२ प्रतिशत बेहोर्नु पर्ने भएको छ । कोरोना बीमा मार्गदर्शन २०७७ अनुसार १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दावी परेको थियो ।
समितिका अनुसार एक हप्ता भित्रमा भुक्तानी सुरु गर्ने तयारी भएको छ। कम्पनीहरुलाई सोही अनुसार आफ्नो दायित्व अन्तर्गतको भुक्तानीका लागि तयारी गर्न मौखिक निर्देशन दिईसकेको छ। सरकारले कोरोना बीमा वापतको रकम भुक्तानी गर्न रकम निकासा भएपछि निर्जीवन बीमा कम्पनी, बीमा समिति र पुनर्बीमा कम्पनीबाट रकम थप गरि गरिन लागेको रकम भुक्तानीको प्राथमिकतामा पहिलो दावीलाई राखिएको छ । पीसीआर रिपोर्टबाट कोरोना प्रमाणित भएका विमितले आफूले दावी रहेको आधारमा क्रमशः भुक्तानी हुने बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पोडेलले बताए ।
कोरोना बीमाको रकम भुक्तानीको लागि कोरोना बीमा पुललाई सक्रिय बनाइनेछ । कोरोना बीमा पुलको जिम्मेवारी शिखर इन्स्योरेन्स कम्पनीले लिएको थियो । कोरोना बीमितहरूको सबै तथ्याङ कोरोना बीमा दावी गरेको मिति तथा कोरोना पोजेटिभ भएको प्रमाणित गर्ने पीसीआर टेष्ट समेतको तथ्याङ बीमा पुलसँग रहेको छ । पीसीआर पोजेटिभ भएको मिति र दावी भुक्तानी माग दावी गरेको आधारमा रकम वितरण हुनेछ ।
बीमा समितिको पछिल्लो तथ्यांक अनुसार १४ अर्ब ९३ करोड ६६ लाख ८९२ रुपैयाँ कोरोना बीमा वापत दाबी परेको छ । त्यस मध्ये ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी भइसकेको छ । कुल दाबी रकम मध्ये ७६.५९ प्रतिशत अर्थात ११ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ सरकारले भुक्तानी गर्नुपर्ने देखिन्छ ।