काठमाडौं । भर्खरै कलेज पास गरेका विद्यार्थीहरु र रोजगारीको खोजीमा रहेका युवाहरुलाई रोजगारदातासंग सिधा सम्बन्ध स्थापना गर्न मद्दत गर्ने उद्देश्यले बौद्धस्थित अरुणिमा कलेजले सोमबार एक दिने रोजगार मेला आयोजना गरेको छ ।
कलेज परिसर बौद्धमा आयोजना भएको मेलामा २० कम्पनी र ६०० भन्दा बढी युवाहरुको सहभागितामा रोजगार मेला सम्पन्न भएको हो । मेलामा सहभागी कम्पनीहरुले आवेदकहरुको व्यक्तिगत विवरणहरु संकलन गरि आफुलाई आवश्यक जनशक्ति चयनको प्रक्रिया शुरु गरेको कलेजले बताएको छ ।
कार्यक्रमको उद्घाटन कलेज संचालन समितिका अध्यक्ष भिमानन्द ढुंगानाले गरेका थिए ।
एकदिने मेलामा सुचना प्रविधि, बैंक तथा वित्तीय संस्था, फुड एण्ड बेभरेज, तयारी पोशाक, लोजिस्टिक, अटोमोबाइल, शिक्षा लगायतका क्षेत्रका कम्पनीहरुको सहभागीता थियो ।
कलेजका प्राचार्य केशब जोशीले रोजगार मेलामा युवाहरुको उत्साहपूर्ण सहभागिताले कलेजलार्इ हौस्याएको बताए । ‘६०० भन्दा बढी युवाहरु मेलामा उपस्थिति भए र सहभागी कम्पनीका प्रतिनिधिहरुसंग आवेदन दिए ्र कम्पनीहरु पनि खुशी छन्,’ जोशीले बताए ।
कार्यक्रमको मुख्य उद्देश्य कलेज सकाएका र कामका खोजीमा रहेको युवाहरुलार्इ रोजगारदाता कम्पनीहरुहरुसंग जोड्नु रहेको बताउंदै जोशीले मेलालार्इ कलेजले आफ्नो वार्षिक कार्यक्रममा राख्ने बताए ।
त्यस्तै मेलाका संयोजक अनुप आचार्यले मेला सहभागी युवाहरु र रोजगारदाता कम्पनी दुवैलाई फलदायी भएको बताए । ‘सहभागी कम्पनीहरुले आफुलाई चाहिने जनशक्ति छनौटको प्रक्रिया शुरु गर्न पाए भने भर्खरै कलेज सकाएका विद्यार्थी र कामको खोजीमा रहेका युवाहरुले कर्पोरेट क्षेत्रमा काम कसरी हुन्छ नजिकबाट बुझ्न पाए,’ आचार्यले बताए ।
फुड स्टल, फेस पेन्टिंग, फोटो बुथ र विभिन्न मनोरन्जात्मक गतिविधिहरु मेलाका अन्य आकर्षण थिए ।
अरुणिमा कलेजले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बिबिएस र बिसीए कार्यक्रम संचालन गरिरहेको छ ।