दार्चुलामा बाढी पहिरो पीडितलाई हेलिकप्टरद्वारा उद्धार

काठमाडौ । दार्चुलामा शुक्रबार रातिको अबिरल वर्षापछि आएको बाढी पहिरो परेकालाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ । बाढी पहिरोबाट संयौं मानिस प्रभावित भएका छन् ।

घाइतेको उद्धारमा हेलिकप्टर परिचालन गरिएको छ । बाढी पहिरोले तीन दर्जन बढी घरमा क्षती पुगेको छ भने केही घर नदी पसेको छ । नेपाली सेनाको एयर एम्बुलेन्समार्फत पहिरोमा परी गम्भीर घाइते पाँच जनाको उद्धार गरिएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत नौगाड गाउँपालिका–१ सल्लाका गम्भीर घाइते ४५ वर्षीय बिरेन्द्र ठगुन्ना, ४० वर्षीय जयबहादुर ठगुन्ना उद्धार गरिएको हो ।

३५ वर्षीया फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीया रम्भादेवी ठगुन्ना र ३० वर्षीय देवसिंह ठगुन्नालाई उद्धार गरी दार्चुला सदरमुकाम खलंगा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवम् प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए । घाइतमध्य बिरेन्द्र ठगुन्नाको अवस्था चिन्ताजनक छ ।

बाढी पहिरोका कारका कारण पाँच जनाको मृत्यु भएको छ भने १० जना अझै बेपत्ता भएका छन् । बाढी पहिरोमा परी ५ जनाको मृत्यु भएको र १० जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले पुष्टि गरेको छ ।

बाढी पहिरोमा परी मृत्यु हुनेमा नौगाड गाउँपालिका –१ सल्लाका अन्दाजी ३५ वर्षीया जानकी ठगुन्ना, १४ वर्षीया धनमती ठगुन्ना, नौगाड गाउँपालिका –२ दल्लेखका मोहनराम पार्की, महाकाली नगरपालिका –२ मैखोलीका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली नगरपालिका –१ का ४५ वर्षीया मानमती कार्की रहेको प्रहरी निरीक्षक गाहामगरले बताए ।

बाढी र पहिरोमा परी बेपत्ता हुनेमा नौगाड गाउँपालिका –१ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षीया महामरी ठगुन्ना, नौगाड –२ दल्लेकका ४० वर्षीय मनीराम लुहार, महाकाली नगरपालिका –४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका –३ डुङरीका ५५ वर्षीय धनसिंह कार्की, उहाँका जेठा छोरा २० वर्षीय दिपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की र महाकाली नगरपालिका –२ मुल्लाका ७५ वर्षीया मानमती साहु रहनुभएको छ ।

महाकाली नगरपालिकाभित्र दुई वटा विद्यालय भवन र विभिन्न स्थानमा गरी दर्जनभन्दा बढी सवारी साधन बाढीले बगाएको छ । बेपत्ता र घाइतेको उद्धार र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ । सोही हेलिकोप्टरमार्फत धनगढीबाट राहत सामग्री लग्ने तयारी भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स