सन्दीप लामिछानेविरुद्ध किटानी दर्ता, दिनभरि कारमा भक्तपुर घुमाएर राति होटलमा दुईपटक बलात्कार

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी दर्ता भएको छ ।

बुधबार लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

मंगलबार साँझ प्रहरी वृत्त गौशालामा आफूमाथि बलात्कार भएको भन्दै एक १७ वर्षीया किशोरीले सन्दीपविरुद्ध जाहेरी दिएकी हुन् ।

सन्दीप र किशोरीबीच एक महिनाअघि मात्र चिनजान भएको थियो ।सन्दीपकै केटी साथीले ती किशोरी र सन्दीपको चिनजान गराइदिएको नेपाल प्रहरीका एक अधिकारीले बताए ।

काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित किशोरीको उमेर १७ वर्ष रहेको छ । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो । सामाजिक सञ्जालमार्फत नै लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए ।

भदौ ५ गते सन्दीप आफ्नो कारमा मध्य बानेश्वरस्थित होस्टल नजिकै लिन आएको र दिनभर सन्दीपले आफ्नै गाडीमा ती किशोरीलाई नगरकोट र भक्तपुरका विभिन्न स्थानमा घुमाएको जाहेरीमा उल्लेख छ ।

किशोरी होस्टेलमा बस्दै आएकी छन् । राति ८ बजेपछि होस्टल बन्द भइसक्ने र सन्दीपले ‘एकछिन/एकछिन’ भन्दै ढिला गरेको पीडितको भनाइ छ । राति करिब ११ बजिसकेपछि सन्दीपले होस्टल बन्द भइसक्यो भन्दै होटलमा बस्ने प्रस्ताव राखेका थिए ।

त्यसपछि उनीहरु राति पिंगलास्थानको होटेल काठमाडौं इनमा बसेको र सोही राति आफूमाथि दुईपटक बलात्कार भएको किशोरीले उजुरीमा उल्लेख गरेकी छिन् ।

प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको सीसी टीभी फुटेज पनि संकलन गर्न थालेको छ । होटलका कर्मचारीहरुसँग पनि सोधपुछ गरिरहेको छ ।

प्रारम्भिक जाँचमा उनी ५ भदौमा ती स्थानमा पीडितसँग गएको देखिएको प्रहरीले जनाएको छ ।

२२ वर्षीय सन्दीप भदौ ६ गते उनीसहितको टोली क्रिकेट शृंखलाका लागि केन्या प्रस्थान गरेका थिए। त्यहाँ नेपालले पाँच खेलको ट्वान्टी–२०० शृंखला खेलेको थियो । जसको नेतृत्व सन्दीपले गरेका थिए । केन्याबाटै सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएका हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स