३० वर्षदेखि सम्पत्ति कर नतिर्ने १७ संस्थालाई महानगरको १० दिने अल्टिमेटम पत्र

कर उठाउन गत वर्ष बाजा लिएर गयौ, अब डोजर लिएर जान्छौंः काठमाडौं महानगर

काठमाडौं । ३० वर्षदेखि सम्पत्ति कर नतिर्ने सरकारी तथा अर्ध सरकारी संस्थालाई काठमाडौं महानगरले १० दिने अल्टिमेटम पत्र काटेको छ । कर नबुझाउने सरकारी तथा निजी संस्थालाई काठमाडौं महानगरपालिककाले कडा कारवाही गर्ने उद्देश्यका साथ उक्त पत्र काटेको हो । गत वर्ष कर उठाउनका बाजा लिएर टोल टोल व्यापारिक केन्द्रमा पुगेको महानगरले यसपाली भने मोडल परिवर्तन गरेर डोजर लिएर जाने भएको छ ।

काठमाडौं महानगरपालिका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले गत वर्ष सूचना निकालेर बाजागाजा सहित व्यापारिक केन्द्रमा कर उठाउन लागि पुगेपनि यस वर्ष भने अब डोजर लिएर जाने तयारी महानगरले गरेको बताए । ‘गत वर्ष निजी संस्थाहरूले कर तिरेपनि सरकारी तथा अर्धसरकारी संस्थान तथा संस्थाहरूले भने कर तिरेनन् ।

महानगरको आदेशलाई अटेर गरेर सम्पत्ति कर नतिर्ने करदातालाई कारवाही गर्न हामी खरो रुपमा उत्रने छौं,’ उनले भने ‘ आज १७ वटा सस्थालाई १० दिनको अल्टिमेटम दिएर पत्र काटेका छौं ।’ पत्र काटेका संस्थाले शुरु २०४९÷५० देखि नै सम्पत्ति कर नतिरेको उनले बताए । गत वर्ष सूचना निकाले पछि २५÷३० संस्थाले सम्पत्ति कर तिरेका थिए । सअघि महानगरले काठमाडौं फनपार्क र क्यासिनोहरुलाई कर तिर्न पत्र पठाएको थियो ।

खाद्य संस्थान, ह्वाइट फिल स्कूल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर अफ कमर्स , कर्मचारी सञ्चय कोष, नेपाल विद्युत प्राधिकरण, नेशनल ट्रेडिङ्ग लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामाग्री संस्थान, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आर.वि कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, सिविक हस्पिटल प्रालि, डेन्टल कलेज, सामाखुशीलाई सम्पत्ति कर बुझाउन भन्दै महानगरले पत्र काटेको हो ।

‘काठमाडौं महानगरपालिकाबाट सम्पत्ति कर बुझाउन पटक पटक ताकेता हुँदै आएकोमा हालसम्म पनि नबुझएको हुँदा विवरणसहित यस पत्र प्राप्त भएको मितिले १० (दश) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसारको सम्पत्ति कर र सो को जरिवाना सहित बुझाउनुहुन अनुरोध छ ।

अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारवाही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असूल उपर गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ’ डा. अधिकारीद्वारा काटिएको पत्रमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स