राष्ट्रिय जनगणना कार्तिक २५ देखि मंसिर ९ गतेसम्म

काठमाडौं । राष्ट्रिय जनगणना कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गर्ने निर्णय भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको छ ।

केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो । सोही तालिकाअनुसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने निर्णय सरकारले गरेको हो । ‘हामीले पठाएको प्रस्ताव स्वीकृति भएको छ, विभागका निर्देशक ढुण्डीराज लामिछाने भने, ‘अब अन्तिम तयारीका काम थाल्छौं ।’

विभागको कार्यतालिकाअनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गर्नेछन् ।

त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिने निर्देशक दिने तयारी विभागले गरेको छ । तालिमपछि मूल गणनाले कात्तिक २५ देखि मंसिर ९ गतेसम्म आम नागरिकको घरदैलोमा पुगेर जनगणना गर्नेछन् ।
विभागका निर्देशक लामिछानेले जिल्लाहरुमा जनगणनाको तयारी निरन्तर भइरहेको बताए । यसअघि विभागले जेठ २५ गतेदेखि असार ८ गतेदसम्म जनगणना गर्ने तयारी गरेको थियो । तर, कोरोना महामारीका कारण जनगणना स्थगित भएको थियो ।

नेपालमा वि.सं १९६८ सालबाट जनगणना शुरु भएको हो । त्यसयता दोस्रो पटक तोकिएको समयमा जनगणना हुन नसकेको विभागले जानकारी दिएको छ । २००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटना क्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो । यद्यपि यसवर्ष भने २०७८ सालभित्रै जनगणना गर्ने विभागको भनाइ छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स